
तिलोत्तमा,२०८१ असोज ९ गते। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङमार्गको पहिलो र तेस्रो बाइपास (क्रस प्यासेज) ‘ब्रेक थ्रु’ भएको छ । सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत कुल तीन मध्ये दुई बाइपासको निर्माण सकिएको हो ।१ सय ५१ मिटर लम्बाइ रहेको पहिलो र १ सय ३० मिटर लम्बाइ भएको तेस्रो बाइपास मुख्य सुरुङसम्म खनेर सकिएको हो ।आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीका अनुसार भदौ २६ गते तेस्रो र असोज ४ गते पहिलो बाइपास मुख्य टनेलसँग खनेर सकिएको हो । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिर तर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । मुख्य टनेलको भागसम्म नपुगेको र केही लामो भएकाले दोस्रो बाइपास ब्रेक थ्रु हुन अझ एक साता लाग्ने सूचना अधिकारी इन्जिनियर ज्ञवालीले बताइन् ।
उनका अनुसार दोस्रो बाइपासको लम्बाइ १ सय ६१ मिटर रहेको छ । यसको १ सय १७ मिटर सुरुङ खनिसकिएको छ । सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको लम्बाइ अब आधा भन्दा बढी खनेर सकिएको उनले बताइन् । मंगलबार बेलुकीसम्म मुख्य टनेल ५८७. २२ मिटर लम्बाइ खनिएको सूचना अधिकारी ज्ञवालीले बताइन् ।यस आयोजनामा ११२६ मिटर मुख्य सुरुङको लम्बाइ रहेको छ । डेढ महिनाअघिदेखि विस्फोटक पदार्थ प्रयोग गरेर काम गरिएको छ । आयोजना कार्यालयका अनुसार दैनिक ८ देखि ९ मिटरका दरले सुरुङ खनिएको छ । अहिले सुरुङको भौतिक प्रगति २४.१७ प्रतिशत र वित्तीय प्रगति २६.४ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पछिल्लो एक महिनामा समग्र १० प्रतिशतले प्रगति बढेको देखिएको छ ।
रातिको समयमा ड्रिलको काम भइरहेको छ । दिउँसोमा कम्तीमा चार पटक विस्फोट गराइएको छ । राजमार्गको चिडियाखोला–दोभान सडक तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रको सिद्धबाबा सडकखण्डमा बारम्बार पहिरो खसेर दुर्घटना हुने गरेपछि विकल्पका रूपमा सुरुङ निर्माणको योजनाअघि बढेको थियो ।यस खण्डको चार किलोमिटर क्षेत्रमा अत्यधिक पहिरो खस्ने क्षेत्रभित्र पर्छ । योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि गरिने आयोजनाले जनाएको छ । कामको प्रगति यही अनुसार भयो भने मंसिरको अन्तिमसम्म मुख्य सुरुङ खन्ने काम सकिने आयोजनाले दाबी गरेको छ ।
सुरुङभित्र केही समस्या आए बाइपासबाट निस्कन मिल्छ । समयसीमा भित्र नै काम सक्नेगरी काम भइरहेकाले त्यस क्रममा देखिएका विभिन्न समस्या समाधानका लागि जिल्ला प्रशासन, स्थानीय तह र जिल्ला समन्वय समितिले सहयोग गर्दै आएको छ ।पाल्पातर्फको सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पाकै तिनाउ जलविद्युत् छेउ रामापिथेकस पार्क नजिकै निस्कन मिल्नेगरी निर्माण गरिएको छ । चाइना स्टेट कन्स्टक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का लिएको यो सुरुङमार्ग बाहिरपट्टिको खण्डमा रक नेट, रक फल ब्यारियर, स्लोप प्रोटेक्सनको काम हुनेछ । सिद्धार्थ राजमार्ग भएर साना–ठूलासहित औसतमा दैनिक करिब ५ हजार सवारी ओहोरदोहोर गर्छन् ।
कमेन्ट गर्नुहोस्