
बुटवल । राष्ट्रिय अपांग महासंघ नेपालको १०औं राष्ट्रिय महाधिवेशन विवादित बनेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की र महासचिव सुगम भट्टराई सहितको पक्षले विधान विपरीत र अदालतको निर्देशन अवज्ञा गर्दै जबरजस्ती चुनाव गराइएको भन्दै निर्वाचन बहिष्कार गरेका छन् ।असन्तुष्ट पक्षले महासंघको विधान विपरीत वितरण गरिएका सदस्य संस्थाहरूको छानबिन माग गरेकामा सोको सुनुवाइ नगरी गरिएको सदस्यता वितरण र सोको आधारमा आएका प्रतिनिधिहरूको संलग्नतामा गरिएको महाधिवेशन विधान विपरीत भएको दाबी गरेको छ ।तिलोत्तमाको दरबारलन योगिकुटी शान्तिचोकमा भएको सो निर्वाचन प्रक्रिया अहिले अगाडी बढाइएको सो महाधिबेशन राति अबेरसम्म शुरु भएको छैन।
उच्च अदालत पाटनले महाधिवेशनको विवाद सम्बन्धमा परेको निवेदनमा चैत २६ गते गरेको आदेश अनुसार २०८३ वैशाख ३ गते दुवै पक्षलाई छलफलमा बोलाइएको सन्दर्भमा सो भन्दा अगाडि अदालतको मानहानी हुनेगरी महाधिवेशन र निर्वाचन गराइएकाले गैरकानूनी भएको वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्कीको भनाइ छ ।महाधिवेशन प्रतिनिधिमाथि प्रहरी दमन गरेर गैरकानूनी रुपमा गरिएको निर्वाचनविरुद्ध कानूनी उपचार खोज्ने वरिष्ठ उपाध्यक्ष कार्कीले बताए ।महाधिवेशन प्रतिनिधि किर्ते र जालसाजी गरेको भन्दै असन्तुष्ट पक्षले विरोध गरेपछि दुई पक्षबीच केहीबेर कुटाकुट भएको र केही प्रतिनिधिलाई प्रहरीले पक्राउ समेत गरेको केन्द्रीय सदस्य सावित्रा घिमिरेले बताइन्।
महासंघमा आर्थिक अनियमितता, असमावेशिता र नेतृत्वको निरंकुशताविरुद्ध दुई वर्षदेखि नै छानबिनको आवाज उठ्दै आएको भएपनि नेतृतव्ले सुनुवाइ नगरेको घिमिरेले बताइन् ।निर्वाचन गराउन गठित वरिष्ठ अधिवक्ता शालिकराम बन्जाडे संयोजकत्वको निर्वाचन समितिले महासंघमा देखिएको विवाद र पाटन उच्च अदालतको निर्देशनलाई मध्यनजर गरी निर्वाचन गराउन उचित नहुने ठहर गर्दै राजीनामा दिएको थियो ।तर महासंघका अध्यक्ष देविदत्त आचार्य पक्षले विवादका बीच रातारात अधिवक्ता जोखबहादुर खत्रीको संयोजकत्वमा अर्को निर्वाचन समिति बनाई वहुमत प्रतिनिधिको वहिष्कारबीच निर्वाचन गराउनु गैरकानूनी भएको महासचिव सुगम भट्टराई बताए ।महासंघका अध्यक्ष आचार्यले भने बहुमतले पारित गरेर महाधिवेशन र निर्वाचन गरेको दाबी गरे ।
कमेन्ट गर्नुहोस्