
तिलोत्तमा। हवाई टिकट रद्द गरेपछि पाउनुपर्ने रकम लामो समयसम्म फिर्ता नपाएको भन्दै तिलोत्तमाका एक ग्राहकले डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। टिकट रिफण्ड प्रक्रियाका लागि १५ दिन बितिसक्दा पनि रकम प्राप्त नभएपछि ग्राहकले सेवा प्रवाहमाथि प्रश्न उठाएका हुन्।
प्राप्त विवरणअनुसार, ती ग्राहकले अक्टोबर ५ (असोज १९) का लागि बुद्ध एयरको टिकट खरिद गरेका थिए। मौसम प्रतिकूल भएका कारण निर्धारित उडान हुन नसकेपछि अर्को दिनको उडानसम्बन्धी टिकट रिफण्ड प्रक्रिया अघि बढाइएको थियो। तर, रिफण्ड प्रक्रिया सुरु भएको १५ दिन बितिसक्दा पनि खल्तीमार्फत रकम फिर्ता नआएको ग्राहकको गुनासो छ।ग्राहकका अनुसार, रिफण्ड हुनुपर्ने रकममध्ये करबापत फिर्ता आउने रकमसमेत विभिन्न बहाना बनाउँदै ‘भोलि हुन्छ’ भन्दै पटक–पटक ढिलाइ गरिएको छ। लामो समयसम्म आफ्नो रकम फिर्ता नपाउँदा अनावश्यक झन्झट बेहोर्नुपरेको र यसले ग्राहकलाई आर्थिक तथा मानसिक असुविधा पुर्याएको उनको भनाइ छ।
डिजिटल भुक्तानी सेवाले कारोबारलाई छिटो, सहज र विश्वसनीय बनाउने अपेक्षा गरिए पनि रिफण्डजस्तो सामान्य प्रक्रियामा समेत लामो समय कुर्नुपर्ने अवस्थाले सेवाग्राहीमा निराशा बढाउन सक्छ। ग्राहकबाट रकम कटौती गर्दा छिटो हुने तर रकम फिर्ता गर्दा विभिन्न बहाना देखाउँदै ढिलाइ हुने प्रवृत्ति स्वीकार्य हुन नसक्ने गुनासोसमेत उठेको छ।सम्बन्धित ग्राहकले खल्तीलाई रिफण्ड प्रक्रिया पारदर्शी बनाउन, रकम फिर्ताको निश्चित समयसीमा तोक्न तथा सेवाग्राहीका गुनासालाई शीघ्र सम्बोधन गर्न आग्रह गरेका छन्।
त्यस्तै, डिजिटल भुक्तानी सेवामा देखिने यस्ता समस्याको नियमन तथा अनुगमन गर्न सम्बन्धित सरकारी निकायले ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ। रिफण्डमा अनावश्यक ढिलाइ भएको पाइएमा त्यसको कारण पहिचान गरी सेवाग्राहीको रकम समयमै फिर्ता गराउने व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ।डिजिटल कारोबारप्रति नागरिकको विश्वास कायम राख्न सेवा प्रदायकले ग्राहकको रकम फिर्ता गर्ने प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन आवश्यक छ। यस्ता गुनासाको निष्पक्ष छानबिन गरी कमजोरी देखिएमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही गर्न सकेमा मात्रै डिजिटल भुक्तानी सेवाप्रति उपभोक्ताको विश्वास थप बलियो बन्न सक्छ।
कमेन्ट गर्नुहोस्