लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

घरेलु तथा साना उद्योग रुपन्देहीले गर्यो,अन्तरक्रियासंगै उत्कृष्ट उद्यमी सम्मान

IMG

रुपन्देही।  घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको आयोजनामा सेवा प्रवाह सरलीकरण सम्बन्धी अन्तरक्रिया तथा उत्कृष्ट उद्यमी सम्मान कार्यक्रम तिलोत्तमा नगरपालिका–९ स्थित मदानी होटलमा सम्पन्न भएको छ।


कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख उद्योग अधिकृत शारदा भट्टराईले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईंको उपस्थिति रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिहरूमा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देहीका निर्देशक शारदा बस्याल, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रुपन्देहीका प्रमुख धर्मा अर्याल, कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद पोखरेल तथा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत लोक कुमार कार्कीको सहभागिता रहेको थियो।


कार्यक्रममा निर्देशक शारदा बस्याल, प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद पोखरेल तथा कार्यालय प्रमुख शारदा भट्टराईले सहजीकरण गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। साथै, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख धर्मा अर्यालले टिप्पणी प्रस्तुत गर्नुभएको थियो।


अन्तरक्रियात्मक छलफलमार्फत सहभागीहरूको जिज्ञासा समाधान गर्दै सेवा सुधारका विभिन्न पक्षमा विचार विमर्श गरिएको थियो। सो अवसरमा तिलोत्तमा–१५ स्थित तिलोत्तमा अर्गानिक फार्म एण्ड रिसर्च प्रालिका सञ्चालक अमृत श्रेष्ठ तथा तिलोत्तमा–१६ स्थित ड्रिम ड्रेसर एण्ड ट्रेनिङ्ग सेन्टरका सञ्चालक मिना कुमारी बस्याललाई सम्मान पत्रसहित खादा ओढाएर सम्मान गरिएको थियो।


कार्यक्रमका प्रमुख अतिथि उमाकान्त चपाईंले घरेलु तथा साना उद्योगको सम्बर्द्धन तथा प्रवर्द्धनमा उद्यमीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सम्मानित व्यक्तित्वहरूको प्रशंसा गर्नुभयो। रुपन्देहीका स्थानिय पालिकाका सम्बन्धित शाखाका प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यालय प्रमुख शारदा भट्टराईले कार्यक्रम समापन गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्