लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा अव्यवस्थित तार व्यवस्थापन हुने, विद्युत्, टेलिकम र इन्टरनेट प्रदायकसँग बृहत् छलफल गरि निर्णय

IMG

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रका सडक तथा विद्युत् पोलमा अव्यवस्थित रूपमा रहेका तार व्यवस्थापन गर्ने भएको छ। यसका लागि नगरपालिकाले विद्युत्, टेलिकम तथा इन्टरनेट सेवा प्रदायक संस्थाका प्रमुख तथा प्रतिनिधिसँग बृहत् छलफल गरेको छ।नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न छलफलमा नगर क्षेत्रका सडक तथा पोलमा झुन्डिएका, प्रयोगमा नरहेका र अनावश्यक तार हटाई आवश्यक तारलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको हो।


छलफलमा सहभागी सेवा प्रदायक संस्थाहरूलाई २०८३ पुस ५ गतेभित्र झुन्डिएका तथा काम नलाग्ने तार हटाउन, सडकका पोलमा अव्यवस्थित रूपमा राखिएका बक्स व्यवस्थित गर्न र प्रयोगमा रहने तारलाई क्ल्याम्पिङ गरी सुरक्षित तथा व्यवस्थित बनाउन निर्देशन दिइएको छ।नगरपालिकाले तोकिएको समयभित्र सम्बन्धित कम्पनीहरूले आफैँ तार व्यवस्थापन नगरेमा २०८३ पुस ६ गतेदेखि नगरपालिकाले नै अव्यवस्थित तार काटेर हटाउने जनाएको छ। तारको पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले प्रत्येक सेवा प्रदायक संस्थाले आफ्नो तारमा स्पष्ट पहिचान खुल्ने ट्याग लगाउनुपर्ने व्यवस्था गर्नुपर्ने निर्णय पनि गरिएको छ। आवश्यकताभन्दा बढी राखिएका तारका बन्डल हटाउनसमेत निर्देशन दिइएको छ।


त्यसैगरी, नगर क्षेत्रभित्र सेवा सञ्चालन गरिरहेका सबै इन्टरनेट सेवा प्रदायक संस्थाले नगरपालिकामा अनिवार्य रूपमा दर्ता तथा सूचीकरण गर्नुपर्ने निर्णय गरिएको छ। यसका लागि २०८३ कात्तिक २६ गतेभित्र अर्थात् १५ दिनको समयसीमा तोकिएको छ।


छलफल कार्यक्रममा नगर उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, वडा अध्यक्ष गणेश पाठक, राजस्व शाखा प्रमुख मुक्तिराम खनाल, प्रशासन प्रमुख इन्द्रदत्त सापकोटा, नयाँमिल विद्युत् कार्यालयका प्रमुख ज्ञानप्रसाद खनाल, नेपाल टेलिकमका शंकर विकलगायत २० भन्दा बढी इन्टरनेट सेवा प्रदायक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


कार्यक्रमको अन्त्यमा नगर प्रमुख रामकृष्ण खाणले सहभागी सबैलाई धन्यवाद दिँदै नगर क्षेत्रको सडक सौन्दर्य, सुरक्षा र व्यवस्थित सहरी विकासका लागि तार व्यवस्थापन आवश्यक रहेको बताउनुभयो। उहाँले सम्बन्धित सबै निकाय तथा सेवा प्रदायक संस्थालाई तोकिएको समयसीमाभित्र जिम्मेवारी पूरा गरेमा नगरपालिका सुन्दर त छदैछ, व्यवसायीलाई समेत ब्यापार बिस्तारमा सहज हुने हुनाले नगरपालिकाको अभियानलाई सफल बनाउन आग्रह समेत गर्नुभयो।


नगरपालिकाको यस पहलबाट सडक तथा विद्युत् पोलमा अव्यवस्थित रूपमा रहेका तार हटाउन, सडकको दृश्य सौन्दर्य सुधार गर्न तथा सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने हुँदा घर आगाडी तार व्यवस्थापन गर्दा सहयोग गर्न नगरबासीहरुमा नगरपालिकाले आग्रह समेत गरेको छ।                                                      

कमेन्ट गर्नुहोस्