लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा ६ सामुदायिक बिद्यालय मर्ज, ७ वटाको तहमिलान र १० प्रतिशत छात्रवृत्ति अनिवार्य

IMG

शंकरपुर्। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो नगर भित्रका विद्यार्थीको संख्या एकदमै कमभएका विद्यालयहरुलाई मर्ज गरेको छ ।  मापदण्ड भन्दा पनि कम कक्षामा १५ जना भन्दा न्युन विद्यार्थीहरु रहेका ६ विद्यालयलाई मर्ज गर्ने र ७ बिद्यालयलाई तहमिलान गर्ने निर्णय गरेको हो । 


यहि माघ २८ गते नगर कार्यपालिकाको बैठकबाट संस्थागत र सामुदायिक विद्यालय समायोजन लगायत नगरको शैक्षिक सुधारका लागि अध्ययन गरी आवश्यक पर्ने कार्यविधि सहितको प्रतिवेदन पेस गर्नका लागि शिक्षा शाखा प्रमुखको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरि सोही कार्यदलको प्रतिवेदनका आधारमा बस्तुगत स्थिति अबलोकन गर्दै विद्यालय मर्ज गर्न लागिएको नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो ।तिलोत्तमा नगरपालिकालाई शैक्षिक हवको रुपमा अघि बढाउनका लागि आफुहरु कार्यदल सहित लागि परेको नगरप्रमुख खाणले जानकारी दिनुभयो ।  नगरप्रमुख खाणले उक्त प्रतिवेदनका आधारमा ६ वटा विद्यालय समायोजन गर्ने र ७ वटा विद्यालयको तह मिलान गर्न लागिएको समेत पत्रकार सम्मेलनमा उल्लेख गर्नुभयो ।


साथै नगरप्रमुख खाँणले सबै संस्थागत विद्यालयलाई अनिवार्य रुपमा १० प्रतिशत छात्रबृति बितरण गर्नुपर्ने र उक्त छात्रवृति प्रदान व्यवस्थित निष्पक्ष रुपमा प्रदान गर्न सबै बिद्यालयलाई आग्रह समेत गर्नुभयो। हाल तिलोत्तमामा निजि (संस्थागत) विद्यालयमा कक्षा १ देखि १२ सम्म २३ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै २ हजार ३ सय विद्यालयले छात्रवृति पाउने कुरा सकारात्मक रहेको नगरप्रमुख खाणले जिकिर गर्नुभयो। बिद्यार्थिलैई दिइने छात्रवृतिको लागि आरक्षणको समेत व्यवस्था गरिएकोले जेहेन्दार, विपन्न, दलितलाई विशेष प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो। 


सो अवसरमा जानकारी गराउदै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालका अनुसार बोहिया आधारभूत विद्यालय, (तिलोत्तमा-१६)  र कोटहिमाई मिसुजु आधारभूत विद्यालय (तिलोत्तमा-१६) लाई कोटहिमाई मिसुजु आधारभूत विद्यालयमा समायोजन (मर्ज) गरिएको छ । यस्तै कोटियामाई आधारभूत विद्यालय (तिलोत्तमा-१२) लाई सरस्वती आधारभूत विद्यालय (तिलोत्तमा-१२), मेदिनी आधारभूत विद्यालय (तिलोत्तमा-६) लाई शान्ति नमुना माध्यमिक विद्यालय (तिलोत्तमा-५), नमुना आधारभूत विद्यालय (तिलोत्तमा-१४) लाई टिकुलीगढ माध्यमिक विद्यालय (तिलोत्तमा-१४) मा समायोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनुभयो । 


यस्तै नवज्योति शंकरमान आधारभूत विद्यालय (तिलोत्तमा-११) लाई भुल्के माध्यमिक विद्यालय (तिलोत्तमा-११), र सेमरी आधारभूत विद्यालय (तिलोत्तमा-१३) लाई जनता माध्यमिक विद्यालय (तिलोत्तमा-१३) मा समायोजन गरिएको उहाँले बताउनुभयो। यस्तै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले विद्यार्थी संख्या कम भएता पनि विद्यालय संचालन गर्नका लागि लागत धेरै लागेकाले मर्ज गर्न लागिएको बताउनुभयो। साथै उहाँले ठूला विद्यालयमा मर्ज हुने विद्यालयका भवनहरु उक्त विद्यालयले ब्लक कक्षाका रुपमा संचालन गर्ने जानकारी दिनुभयो। विद्यालय मर्ज तथा तह मिलान गर्दा बार्षिक २७ लाख आर्थिक बचत हुने समेत प्रप्रअ भुसालले बताऊनुभयो।


सो पत्रकार सम्मेलनमा आर्थिक विकास समितिका संयोजक गणेश पाठक, वातावरण तथा सुशासन समितिका संयोजक सुरेन्द्र श्री,सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले बोल्दै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि व्यापक सुधार आवश्यक रहेकाले विद्यालय मर्ज र तह समायोजनका लागि कार्यदल बनाई स्थलगत अनुगमन गर्दै प्रतिवेदनका आधारमा सो निर्णय गरिएको र यसले आम नगरबासीमा सकारात्मक संदेश दिने समेत बताएका छन ।

कमेन्ट गर्नुहोस्