लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाल्पा-बुटवल सडकमा छरिँदै 'मृत्यु पासो', चुनढुङ्गा बोक्ने टिपरको आतंक

IMG

टिप्परले बुटवलका सडकमा ढुङ्गा खसाल्दै हिँड्ने गरेको, मापदण्ड विपरीत ओभरलोड बोक्दै आएको, सडकमा खसेका ढुङ्गाले पुर्‍याउने जोखिम र प्रशासनको उदासीनता


लुम्बिनी । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको चुनढुङ्गा खानीबाट बुटवल, भैरहवा र नवलपरासीका सिमेन्ट उद्योगमा चुनढुङ्गा ढुवानी गर्ने टिपरहरूका कारण बुटवलका सडकमा गम्भीर जोखिम बढेको छ । मापदण्ड विपरीत ओभरलोड बोक्ने र सडकमा चुनढुङ्गा खसाल्दै हिँड्ने टिपरहरूका कारण बुटवल-पाल्पा सडकखण्ड र बुटवल बजार क्षेत्रको सडक सुरक्षामा प्रश्न चिन्ह खडा भएको हो ।


सिमेन्ट उद्योगसम्म कच्चापदार्थ ढुवानी गर्ने टिपरले बुटवलको सडकखण्डलाई 'मृत्यु पासो'मा परिणत गरेको पाइएको छ । क्षमताभन्दा बढी (ओभरलोड) चुनढुङ्गा बोकेर गुड्ने टिपरले सडकमा ढुङ्गा खसाल्दै र तीव्र गतिमा गुड्दा स्थानीय बासिन्दा, साना सवारी र पैदलयात्रीको ज्यान जोखिममा परेको छ ।सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान सिद्धबाबा क्षेत्रबाट बुटवल हुँदै महेन्द्र राजमार्ग चौराहदेखि पूर्व सुनवल तर्फको हाइवे र बुटवल-भैरहवा सडकमा दैनिक झण्डै एकसय हाराहारी संख्यामा गुड्ने टिपरले मापदण्डको धज्जी उडाउँदै आएका छन् । टिपरको त्रिपालले राम्रोसँग नछोपी, कमजोर त्रिपाल त्यो आधा भाग छोपेर, क्षमताभन्दा दोब्बर भार बोकेर गुड्दा टिपरबाट ढुङ्गा र चुनढुङ्गाका टुक्राहरू सडकमा खस्ने गरेका छन् ।


बुटवलको मुख्य सडक, विशेषगरी राजमार्ग चौराहादेखि सुनवलतर्फको सडक र चिडियाखोलासम्मको क्षेत्रमा चुनढुङ्गाका ठूला टुक्राहरू सडकभरी छरिएका भेटिन्छन् । जसले गर्दा साना सवारी साधन, मोटरसाइकल र स्कुटर दुर्घटनाको उच्च जोखिम बढेको छ ।टिपरबाट खसेका ढुङ्गामा मोटरसाइकलको चक्कामा परेर कतिपय दुर्घटना भइसकेका छन् । प्रशासनले टिपरलाई केही नभन्ने, हाम्रो ज्यान जोखिममा छ, बुटवलका स्थानीय रामप्रसाद पौडेलको गुनासो छ । खसेका ढुङ्गाले सडकको संरचनालाई समेत बिगार्ने उनको भनाई छ ।


टिपर व्यवसायीहरूले बढी सामान, बढी नाफाको लोभमा सवारी तथा यातायात व्यवस्था ऐन विपरीत भार बोक्ने गरेका छन् । पाल्पा बुटवल खण्डमा सिमेन्ट उद्योगका लागि कच्चापदार्थ बोक्ने टिपरहरू बिहान ९ बजेतिर दिनभर तीव्र गतिमा गुड्दै आइरहेका छन् । अत्यधिक भार र तीव्र गतिका कारण ब्रेक फेल भएर टिपर पल्टिने जोखिम पनि उत्तिकै बढेको छ । यसअघि ओभरलोडका कारण बुटवलको सडक कालोपत्रे उप्किएर हिलो र धुलोले सडकको अवस्था दयनीय बनेको थियो । 


पाल्पाका खानीबाट ओभरलोड भएर बुटवलतर्फ आउने टिपरले त्रिपाल समेत नलगाई वा कमजोर त्रिपाल लगाएर ढुङ्गा खसाल्ने गरेका छन् । सिद्धबाबा दोभान क्षेत्र, तिनाउ गाउँपालिकाका विभिन्न भाग र बुटवलको चिडियाखोला क्षेत्रमा टिपरबाट खसेका ढुङ्गाले सडक जोखिम बनेको छ । टिपर आउँदा हामी सवारी साधनका चालकहरू सडकको छेउमा गाडी रोकेर बस्छौँ, एक बस चालकले गुनासो गरे, उनीहरूले खसाल्ने ढुङ्गाले सिसा फुट्ने, टायर पड्किने र मोटरसाइकल दुर्घटना हुने गरेको छ । 


पाल्पाको चुनढुङ्गाले उद्योग त चलेका छन्, तर सर्वसाधारणले सडकमा टिपरको आतंक रोक्न पटक पटक माग गरे पनि जिल्ला प्रशासन कार्यालय पाल्पा र रुपन्देहीले ठोस कदम चाल्न सकेका छैनन् । चुनढुङ्गा ढुवानी गर्ने टिपरको बेथितिले सर्वसाधारणको बाँच्न पाउने अधिकार र सुरक्षित यात्राको हक हनन गरेको छ । समयमै ओभरलोडिङ र ढुङ्गा खसाल्ने प्रवृत्तिमा रोक नलगाउने हो भने बुटवल क्षेत्रका सडकमा ठूलो दुर्घटनाको जोखिम देखिएको समाजसेवी रमेश कुमार क्षेत्रीले बताए ।


पाल्पाको अर्थतन्त्रसँग जोडिएको चुनढुङ्गा उद्योग महत्त्वपूर्ण भए पनि, ढुवानी प्रक्रियालाई सुरक्षित बनाउन आवश्यक रहेको र टिपरहरूमा अनिवार्य त्रिपाल प्रयोग गर्ने, ओभरलोड रोक्ने, र सडकमा खसेका ढुङ्गा तत्काल सफा गर्ने व्यवस्थापन नगरेसम्म बुटवल पाल्पा सडकमा दुर्घटनाको 'टिपर आतंक' कायमै रहने, सडकखण्डको कालोपत्रे छिट्टै उप्किने र जीर्ण हुने स्थानीय जानकारहरू बताउँछन् ।


प्रशासनको उदासीनता, स्थानीयको आक्रोश

यो समस्याबारे सरोकारवाला निकायले केही सयम आवाज उठाएपछि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले केही दिन कारबाही गरेजस्तो गरे पनि पुनः टिपरको उस्तै रजगज चल्ने गरेको छ ।'टिपर व्यवसायी र प्रशासनको मिलेमतो छ जस्तो लाग्छ । नत्र सडकमा ढुङ्गा खसाल्दै हिँड्ने टिपरलाई कसरी छुट मिल्छ ?' एक स्थानीयले प्रश्न गरे ।ट्राफिक प्रहरीले मापदण्ड विपरीतका टिपरलाई कारबाही गर्ने दाबी गरे पनि प्रभावकारीरुपमा व्यवहारमा त्यो लागू हुन सकेको छैन् । 

कमेन्ट गर्नुहोस्