लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यो दसैंमा डिजिटल दक्षिणा !

IMG

काठमाडौँ। के तपाईं यसपालिको दसैंमा दक्षिणा नगद दिने सोच्दै हुनुहुन्छ ? यदि सोच्नुभएको छ भने यस पटक विचार गर्नुहोस् । नोटभन्दा डिजिटल माध्यमबाट दक्षिणा लिनुदिनु बढी सुरक्षित हुन्छ।नेपाल राष्ट्र बैंकले पनि विजया दशमीको समयमा डिजिटल कारोबारलाई प्राथमिकता दिन अनुरोध गरेको छ। बैंकका सहायक प्रवक्ता तथा सूचना अधिकारी सुधा श्रेष्ठले  दसैंमा मोबाइल बैंकिङ्ग र डिजिटल वालेटमार्फत भुक्तानी गर्न उपयुक्त हुने बताउनुभयो।  


दसैंको दक्षिणामा बैंक नोट दिँदा भिज्ने, रङ, दाग लाग्ने र छिट्टै पुरानो देखिने भएकाले डिजिटल माध्यमबाट दक्षिणा दिन उपयुक्त हुने सहायक प्रवक्ता तथा सूचना अधिकारी श्रेष्ठको सुुझाव छ । चाडपर्व मात्र नभइ अरुबेला पनि नगदभन्दा डिजिटल कारोबार सुरक्षित हुने उहाँको भनाइ छ । यसले पैसा हराउने, चोरी हुने घटनाबाट जोगिन सघाउँछ। पाकेटमारबाट बच्न सकिन्छ। वित्तीय साक्षरता बढ्दै गएकोले  दसैंमा नगदको सट्टा डिजिटल दक्षिणा दिने कुरामा सर्वसाधारण समेत विस्तारै सचेत बन्दै जानुभएको छ । 


राष्ट्र बैंकले एटिएमबाटै १०० रुपियाँ दरका नयाँ नोट निकाल्ने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशन समेत दिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो।

विदेश वा टाढा रहनुभएका आफन्तलाई तुरुन्तै रकम पठाउन सकिने भएकाले यसप्रति आकर्षण बढेको हो । थानकोट निवासी दर्शन खतिवडाले गत वर्षको दसैंमा दक्षिणावापत पाएको पैसा बाटामै हराएको स्मरण गर्नुभयो । यसवर्ष आफूले पनि क्युआर कोड स्क्यान गरी दक्षिणा लिनेदिने योजना बनाएको उहाँले बताउनुभयो। 


डिजिटल माध्यममा कारोबारको अभिलेख राख्न सजिलो हुन्छ । यसबाट चाडपर्वमा कुन कार्यमा कति खर्च भयो र आफूसँग कति रकम बाँकी छ भन्ने जानकारी प्राप्त हुने हुँदा आर्थिक व्यवस्थापन गर्न सहज हुने उपभोक्ताको बुझाइ छ।दसैंमा मन्त्रोच्चारण गर्दै टीका, जमरा लगाइदिएपछि नोट र सिक्का नै दिने चलन नेपाली समाजमा विगत लामो समयदेखि छ । विगतमा टीका लगाएपछि नगद नै दिने बानी भएका कारण कतिपय व्यक्ति डिजिटल कारोबार गर्न चाहनु हुन्न। दक्षिणा भनेको चढाउने, हातमा दिने कुरा भएकाले नोट वा सिक्का नै दिनुपर्ने पण्डित रुद्रनाथ अधिकारीले बताउनुभयो । 


सबै व्यक्तिसँग डिजिटल कारोबारको सुविधा नहुने उहाँको भनाइ छ । “नाबालक, क्युआर कोड नभएका व्यक्तिलाई कसरी दक्षिणा दिने ?” उहाँले प्रश्न गर्नुभयो । कतिपय बैंक तथा वित्तीय संस्था र सेवा प्रदायकले दसैं–तिहार लगायतका चाडपर्वमा डिजिटल भुक्तानी प्रवर्धनका लागि ग्राहकलाई प्रेरित गर्न विभिन्न ग्राहक योजना समेत सार्वजनिक गर्दैआएका छन् । मान्यजनबाट प्राप्त आशीर्वाद पर्याप्त भए पनि मानिसको आयस्रोत बढेपछि दक्षिणाले बढी महत्व पाउँदैआएको छ। 


पैसा साट्न लाइन बस्नु नपर्ने 

यस पटकको दसैंमा खुद्रा नोट साट्न घण्टौँसम्म बैंकमा लाइन लाग्नु नपर्ने भएको छ। राष्ट्र बैंकले एटिएमबाटै १०० रुपियाँ दरका नयाँ नोट निकाल्ने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशन समेत दिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो। चाडपर्वका बेला बैंकमा हुने भीडभाड कम गर्दै खुद्रा नोटको कमी नहोस् भनेर सो व्यवस्था गर्न लागिएको हो।हाल अधिकांश बैंकका एटीएम मेसिनबाट पाँचसय र एक हजार रुपियाँ दरका नोट मात्रै झिक्न सकिने व्यवस्था छ। राष्ट्र बैंकले चाडपर्वमा नयाँ नोटभन्दा पनि पुरानो तर सुकिलो नोट प्रयोग गर्न समेत प्रोत्साहन गर्दैआएको छ।

कमेन्ट गर्नुहोस्