लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माथिल्लो त्रिशूली–१ आयोजनाबाट बेपत्ता ११ जनाको शव निकालियो,८२ सुरक्षाकर्मी सम्पर्कविहीन

IMG

रसुवा ।भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका थप ११ जनाको शव फेला परेको छ ।नेपाली सेनाका अनुसार असोज ३ गते आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट–३ टनेलको जालीमा अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा ती शव फेला पारेको हो ।


टोलीले फेला परेका सबै शवलाई टनेलबाट बाहिर निकालेको नेपाली सेनाले जनाएको छ ।बाढीका कारण आयोजनास्थलबाट ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका थिए । बेपत्ता अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ ।


८२ सुरक्षाकर्मी सम्पर्कविहीन, ४५ सैनिक परिवारले दिए डीएनए

१० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेका ८२ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन् । बाढी आएको तीन साता बितिसक्दा पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ८२ सुरक्षाकर्मीको अझै पत्तो लाग्न सकेको छैन।सैनिक मुख्यालय जंगी अड्डाका अनुसार ४५ सैनिक सम्पर्कविहीन छन् । नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरूले उनीहरूको खोजी गरिरहेका छन् ।त्यस्तै, नेपाल प्रहरीका २५ जना सम्पर्कविहीन छन् । रसुवागढी चौकी, इलाका प्रहरी कार्यालय टिमुरे, स्याफ्रुबेसी, हाकु चौकी, मैलुङमा कार्यरत २५ जना प्रहरी कर्मचारीसँग सम्पर्क हुन सकेको छैन ।


नेपाल प्रहरीका २८ जना बेपत्ता भएकोमा ३ जनाको भने शव भेटिएको छ । अब २५ जना सम्पर्कविहीन छन् ।सशस्त्र प्रहरीका १२ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको पनि खोजी जारी छ । सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहीन भएकोमा एक जनाको भने शव भेटिएको थियो ।सम्पर्कविहीन भएकाहरूको खोजी जारी राख्दै उनीहरूका आफन्तले डीएनए जाँचका लागि रगतसमेत दिन थालेका छन् । अहिलेसम्म सम्पर्कमा नआएपछि उनीहरूका आफन्तले शव पहिचान गर्न डीएनए जाँचका लागि रगत दिन थालेको प्रहरीले बताएको छ ।सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सम्पर्कविहीन भएका ४५ सैनिक परिवारबाट डीएनए संकलन गरिएको छ । सबै परिवारले डीएनए दिइसकेकोले स्याम्पल म्याचको काम अघि बढाइएको छ ।सम्पर्कविहीन प्रहरी र सशस्त्र प्रहरीका परिवारले पनि डीएनए दिएका छन् ।


के पाउँछन् राहत ?

नेपाली सेना

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार अहिले पीडित परिवार लक्षित हेल्प डेस्क स्थापना गरी काम भइरहेको छ । प्रारम्भिक चरणका सबै कामहरू भइसकेको जंगी अड्डाले बताएको छ। प्रारम्भिक चरणमा दिइने राहतसमेत सम्पर्कविहीन ४५ परिवारकै सदस्यलाई वितरण गरिएको छ । बाँकी प्रक्रियाका लागि भने काम अघि बढाइएको जंगी अड्डाले बताएको छ ।‘बेपत्ताको हकमा कानुनी अड्चन पनि यथावत् छ । कानुनी पाटो सम्बोधन भएपछि थप गर्नुपर्ने कामहरू तथा राहतका लागि पनि अहिले सबै तयारी गरिएको छ,’ जंगी अड्डा स्रोतले भन्यो ।अहिले सबै पीडित परिवारसँग सम्पर्क र समन्वय गरेर काम भइरहेको जंगी अड्डाले बताएको छ । अन्य क्षतिपूर्ति तथा राहत सैनिक ऐन, नियमावलीअनुसार हुनेछ ।


नेपाल प्रहरी

बाढीमा बेपत्ता भएका प्रहरीका परिवारलाई क्षतिपूर्ति दिनेबारे यसअघि बसेको प्रहरीको पीसीसी (नीति निर्माण समिति)ले निर्णय नै गरिसकेको छ । जसअनुसार बेपत्ता परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको छ ।त्यस्तै ज्यान गुमाएका प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने, उनीहरूको परिवारबाट इच्छुक एक जनालाई सिपमूलक तालिम प्रदान गर्ने निर्णय भएको छ ।


साथै, रोजगारीको लागि आवश्यक पहल गर्ने, उनीहरूका सन्ततिहरूलाई ‍शैक्षिक वृत्तिअन्तर्गत पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने बैठकमा निर्णय गरिएको छ ।बाढी प्रभावित क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीका सामग्रीहरूमा क्षति पुगेको र त्यसको राहतस्वरूप जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको थियो ।यसका साथै उनीहरूले प्रहरी नियमावलीबमोजिम पाउनुपर्ने सेवा–सुविधा पनि पाउने छन् ।


सशस्त्र प्रहरी

बाढीमा बेपत्ता भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत दिने निर्णय सशस्त्र हेडक्वार्टरले गरेको छ ।मृतक सशस्त्र प्रहरी कर्मचारीहरूका आश्रित परिवारलाई राष्ट्रसेवकहरूको तर्फबाट तत्काल १५ लाख र सशस्त्र प्रहरी कर्मचारीहरूको मृत्यु भएमा निजको हकवाला/आश्रित परिवारलाई उपलब्ध गराउने राहतसम्बन्धी कार्यविधि, २०७९ बमोजिम ५ लाख तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०८१ बमोजिम ५ लाखसमेत गरी कूल २५ लाख रकम तत्काल उपलब्ध गराउने निर्णय हल्चोकको छ ।


यसका साथै मृतक कर्मचारीहरूले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिहरूलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्मको अध्ययनको लागि शैक्षिक शुल्क छुट गर्ने निर्णयसमेत संगठनले गरेको छ ।सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्यको सोही बाढीका कारण मृत्यु भएमा राहतस्वरूप प्रतिव्यक्ति १ लाख तत्काल उपलब्ध गराउने र बाढीमा परी मृत्यृ भएका सशस्त्र प्रहरी कर्मचारीहरूको स्मृतिमा संगठनको तर्फबाट उपयुक्त स्थानमा स्मारकसमेत निर्माण गर्ने निर्णय भएको छ ।

कमेन्ट गर्नुहोस्