लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भलवारीमा तीजको अवसरमा लाखे नाच प्रदर्शन

IMG

शारदा शाही, भलवारी। रुपन्देहीको तिलोत्तमा–७ भलवारीमा नेवारी समुदायको परम्परागत लाखे नाच प्रदर्शन गरिएको छ। जोजो लप्पा नेवा समाज तिलोत्तमा–७ भलवारीको आयोजनामा भलवाडी चोकमा तीजको अवसर पारेर लाखे नाच प्रदर्शन गरिएको हो।


विशेषगरी नेवारी समुदायमा प्रचलित लाखे नाच कृष्ण जन्माष्टमीभन्दा एक दिन अगाडि प्रदर्शन गर्ने परम्परा रहेको छ। तर यस वर्ष देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण जनजीवन प्रभावित भएको र देश पीडामा रहेकोले निर्धारित समयमा लाखे नाच गर्न नसकिएको समाजका कार्यकारी अध्यक्ष विजय श्रेष्ठले बताउनुभयो। त्यसैले तीजको दिन पारेर कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ। श्रेष्ठका अनुसार लाखे नाच केवल मनोरञ्जनका लागि मात्र नभई नेवारी समुदायको मौलिक कला, संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक गतिविधि हो। पुस्तौँदेखि चलिआएको परम्परालाई निरन्तरता दिन र नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग परिचित गराउन कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।


समाजका सचिव विनोद श्रेष्ठले आफ्नो मौलिक परम्परा र संस्कृति संरक्षण गर्ने उद्देश्यले लाखे नाच आयोजना गरिएको बताउनुभयो। पछिल्लो समय आधुनिक संस्कृतिको प्रभाव बढ्दै गएकाले मौलिक कला तथा संस्कृतिको संरक्षणमा सबै समुदायको ध्यान जानुपर्ने उहाँको भनाइ छ।लाखे नाच हेर्न भलवाडी चोकमा स्थानीय बासिन्दा तथा अन्य स्थानबाट पनि मानिसहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


परम्परागत बाजागाजा सहित प्रस्तुत गरिएको लाखे नाचले दर्शकलाई आकर्षित गरेको थियो। कार्यक्रममा सहभागीहरूले नेवारी संस्कृति र परम्पराको संरक्षणसँगै यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।जोजो लप्पा नेवा समाजले आगामी दिनमा पनि समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षणका लागि विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गर्ने जनाएको छ।


कमेन्ट गर्नुहोस्