लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जलवायु परिवर्तन विषयक नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न, प्रतिभा न्यौपाने प्रथम

IMG

तिलोत्तमा। राष्ट्रिय बाल दिवसको अवसरमा तिलोत्तमा नगर बाल सञ्जालको आयोजनामा ‘जलवायु परिवर्तन : नेपालको वर्तमान र भविष्य’ विषयक नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। शनिबार आयोजित प्रतियोगिता नगर बाल सञ्जालकी अध्यक्ष महिमा खनालको अध्यक्षतामा भव्य, सभ्य तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको हो।


नगरभित्र रहेका १७ वटै वडाबाट एक–एक जना गरी कुल १७ जना प्रतिभाशाली बाल प्रतिनिधिहरूको सक्रिय तथा प्रतिस्पर्धात्मक सहभागिता रहेको प्रतियोगितामा सहभागीहरूले जलवायु परिवर्तनले नेपालमा पारेको प्रत्यक्ष प्रभाव, वातावरणीय संकट, प्राकृतिक विपत्ति, आगामी चुनौती तथा यसको न्यूनीकरणमा युवा र बालबालिकाको भूमिकाका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।


प्रतियोगीहरूले हालै भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीजस्ता प्राकृतिक विपत्तिलाई समेत उदाहरणका रूपमा प्रस्तुत गर्दै जलवायु परिवर्तनका कारण बढ्दो वातावरणीय जोखिमप्रति सचेत हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले तथ्यगत तर्क र ओजस्वी प्रस्तुतिमार्फत उपस्थित महानुभावहरूको ध्यान आकर्षित गरेका थिए।कार्यक्रमको सञ्चालन नगर बाल सञ्जालकी सचिव आकृति पाण्डेले गरेकी थिइन्।


बालबालिकामा अन्तरनिहित वाकपटुता, तार्किक क्षमता र नेतृत्वदायी प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले बालबालिकाको झिझक हटाई आत्मविश्वास वृद्धि गर्नुका साथै वातावरणीय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।प्रतियोगितामा तिलोत्तमा नगरपालिका वडा नम्बर १६ की प्रतिभा न्यौपाने प्रथम, वडा नम्बर ३ का सुबोध ज्ञवाली द्वितीय, वडा नम्बर १ का रिजन खरेल तृतीय तथा वडा नम्बर ६ की अरुणा खरेल चौथो भएकी छन्।कार्यक्रममा सामाजिक विषयगत समितिका संयोजक रवि सेन्चुरी, शिक्षा शाखा प्रमुख धनीप्रसाद शर्मा, बालमैत्री सहजकर्ता शारदा घिमिरे, विकास सुनार लगायत विद्यार्थी तथा प्रतियोगीहरूको उपस्थिति रहेको थियो।


यसै अवसरमा तिलोत्तमा नगर बाल सञ्जालका नयाँ पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराइएको थियो।नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले बाल अधिकारको सुनिश्चितता र बालमैत्री समाज निर्माणका लागि प्रतिबद्ध रहने सपथ लिएका थिए। सपथका क्रममा उनीहरूले बालविवाह नगर्ने र हुन नदिने, बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, शोषण तथा विभेदको विरोध गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


त्यस्तै, सुर्तीजन्य पदार्थ, मदिरा तथा लागूऔषधबाट टाढा रहने, बालश्रम नगर्ने र हुन नदिने तथा प्रत्येक बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताको अधिकारको सम्मान गर्ने सपथ लिइएको थियो।नयाँ बाल सञ्जालका पदाधिकारी तथा सदस्यहरूले प्रकृति र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, फोहोर जथाभावी नफाल्ने, पानी, वन तथा वातावरण जोगाउने र जलवायु परिवर्तनका असर न्यूनीकरणमा आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता पनि जनाएका छन्।


“मेरो अधिकार, मेरो कर्तव्य, मेरो जिम्मेवारी, हाम्रो तिलोत्तमा नगरी, हाम्रो बालमैत्री नगरी” भन्ने भावनासहित बालमैत्री, दिगो, समतामूलक तथा सुरक्षित समाज निर्माणमा आफ्नो तन, मन र कर्मले योगदान गर्ने उनीहरूले सपथ लिएका थिए।आयोजकका अनुसार प्रतियोगिता तथा सपथ ग्रहण कार्यक्रमले बालबालिकालाई अधिकारसँगै आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सचेत बनाउँदै बालमैत्री र दिगो तिलोत्तमा निर्माणमा सहभागी हुन प्रेरित गरेको छ।


कमेन्ट गर्नुहोस्