लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गणेश चतुर्थी व्रत

IMG

:: श्री गणेशाय नम ::

शान्ताकारम् भुजगशयनम् पद्मनाभम् सुरेशम् ।

विश्वाधारम् गगनसदृशम् मेघवर्ण शुभाङ्गम् ।।

लक्षमीकान्तम् कमलनयनम् योगिभिर्ध्यानगम्यम् ।

वंदे विष्णु भवभयहरम् सर्वलोकैकनाथम् ।।


"सृष्टिको रक्षा गर्ने भगवान विष्णुलाई म प्रणाम गर्दछु, जो प्रशान्त हुनुहुन्छ, जो दिव्य सर्पमा विराजमान हुनुहुन्छ, जसको नाभिबाट सृष्टिको शक्तिले कमल उत्पन्न हुन्छ, जो परमात्मा हुनुहुन्छ, जसले सम्पूर्ण ब्रह्माण्डलाई धारण गर्नुहुन्छ, जो परमात्मा हुनुहुन्छ। आकाश जस्तै सर्वव्यापी, जो बादल जस्तै कालो छ र भव्य रूप छ। लक्ष्मीका स्वामी, कमल नेत्र भएका, जो योगीहरूले ध्यानद्वारा बुझ्छन्, म तिमीलाई नमस्कार गर्दछु, लौकिक अस्तित्वको भय हटाउने र जो सबै जगतका स्वामी हुनुहुन्छ।"


भगवान् श्री गणेशको जन्मदिन

आज गणेश चतुर्थी अर्थात् हात्तीको टाउको भएका भगवान् श्री गणेशको जन्मदिन । हिजो तृतीया तिथि अर्थात् तिज अनि आज भाद्र शुक्ल चतुर्थी अर्थात् मंगलमुर्तिको जन्मदिन । कसै कसैले आजको दिनलाई विनायक चतुर्थी पनि भन्दछन् । गणेश भनौँ या विनायक भनौँ या गजा धर जे नामले सम्झिए पनि यी सम्पूर्ण नाम भगवान् गणेश कै हो ।हिन्दुधर्मावलम्वीहरु हरेक शुभ कार्य, कर्मकाण्डी प्रक्रिया, पूजाआजा या नवीन चिन्तन सुरुवात गर्नुभन्दा अगाडि गणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्री गणेशको नाम सर्वदा अगाडी आउँदछ । यसै कारण पनि सनातन हिन्दूधर्मावलम्विहरू बिच एउटा चर्चित भनाई नै छ, "शुभ कार्यको श्री गणेश गर्ने" । यस दिन गणेशलाई विभिन्न ८४ परिकारबाट बनेको समय बजी तथा फलफूल चढाउने चलन पनि रहेको पाइन्छ ।


गणेशको जन्म बारेको धारणा

१०८ वटा विभिन्न नाम भएका भगवान् गणेशलाई कला र साहित्यको भगवान् पनि मानिन्छ र उनको जन्मका बारेमा दुई खाले धारणा पाइन्छ । स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार पार्वतीले आफ्नो शरीरको मैल जम्मा गरी उक्त मैलबाट बनाइएको आकृतिबाट गणेश उत्पन्न भएका हुन । एक दिन पार्वती स्नान गर्न जाँदा आफ्नो द्वारपालका रूपमा गणेशलाई राख्नुभएको थियो । यी सब कुराबाट भगवान् शिवलाई जानकारी थिएन र सोही समय पार्वतीलाई भेट्न भगवान् शिव आउँदा द्वारपाल बालक गणेशले रोकेपछि शिवले आफ्नो पुत्र हुन भन्ने चाल नपाएरै गणेशको शिर छेदन गरिदिए । स्नान पश्चात् पार्वतीले पुत्रको यस्तो अवस्था देखेर महादेवसँग अनेक बिलौना गरेपछि देवाधिदेव महादेव उत्तरतर्फ गई हात्तीको शिर ल्याएर गणेशको शरीरमा प्रतिस्थापित गरेको कुरा उल्लेख गरेको छ ।


अर्को किवंदन्तीका अनुसार देवताहरूको विशेष आग्रहमा शिव पार्वतीले गणेशको सिर्जना गरेका हुन, गणेशलाई राक्षसी पथको विघ्नकर्ता र देव पथको विघ्न हर्ताका रूपमा सिर्जना गरिएको हो । वास्तवमा गणेश चतुर्थी नेपाल लगायत भारत, मरीसस, फिँजी लगायतका दक्षिण पूर्वी एसियाका देशहरूमा दश दिनसम्म मनाइने गरिन्छ । शुक्ल चतुर्थीमा सुरु हुने यो चाड अनन्त चर्तुदशीका दिनमा समापन गर्ने गरिन्छ । यसरी मनाउने क्रममा भगवान् गणेशको प्रतिमा स्थापित गरी रङ्गिन पण्डालहरु लगाएर ४ चरणमा पूजा गरिन्छ । प्राण प्रतिष्ठा अर्थात् भगवानको प्रतिमा स्थापित गर्ने, सादासोपचरा अर्थात् सोह्र तरिकाले भगवान् गणेशको अनुष्ठान गर्ने, उत्तर पूजा अर्थात् प्रतिमालाई एक ठाउँबाट अर्को ठाउँ लैजान तैयार गर्ने अनि गणपति विसर्जन अर्थात् प्रतिमालाई नदी, खोला अथवा सफा जलाशयमा मा विसर्जन गर्ने क्रमहरू हुन्छन् । यसरी सुरुमा स्थापित गरेको प्रतिमालाई अन्तमा लगेर औपचारिक रूपमा खोलामा विसर्जन गरेपश्चात् यस पर्वको समापन भएको मानिन्छ ।


कमेन्ट गर्नुहोस्