
काठमाडौँ । भोटेकोशी हिमबाढीले निम्त्याएको महाविपतको सामना गरिरहेको नेपालप्रति उदार बनेर सहयोग गर्न संयुक्त राष्ट्रसङ्घले अपिल गरेको छ ।भोटेकोशी बाढीले विनास गरेको स्थलको अवलोकनपछि राष्ट्रसङ्घको नेपालस्थित आवासीय संयोजक लीला पिटरस याहियाले नेपाललाई उदार बनिदिन विश्वका मुलुकलाई आज अपिल गर्नु भएको हो ।
बाढीपछि क्षतविक्षत बनेका विभिन्न स्थानको अवलोकनपछि निकै भावविह्लल हुनु भएकी उहाँले पहिले मानव जीवनको ठूलो चहलपहल रहेको स्थान अहिले चकमन्न रहेको टिप्पणी गर्नुभयो । नेपालस्थित राष्ट्रसङ्घको कार्यालयका तर्फबाट वक्तव्य जारी गर्दै उहाँले ती स्थानमा कुनै समय मानिस, घर, सडक, पुल र हरिया खेत रहेको बताउनुभयो ।
बाढीबाट प्रभावित मानिसलाई आश्रय र स्वच्छ पानीको आवश्यकता टड्कारो रहेको उहाँले उल्लेख गर्नुभयो । साथै, सुचारु रूपमा सञ्चालित स्वास्थ्य चौकी र आफ्नै हातमा नगद रकम पनि आवश्यक छ, ताकि उनीहरूले आफ्नो परिवारलाई सबैभन्दा पहिले के कुराको खाँचो छ भन्ने निर्णय आफैं गर्न सकून् ।संयुक्त राष्ट्रसंघ नेपाल र सरकारले आगामी चार महिनाभित्र रसुवा, नुवाकोट र धादिङका ८४ हजार भन्दा बढी मानिससम्म सहयोग पुर्याउन चार करोड ९६ लाख अमेरिकी डलरको अपिल गरिरहेको उहाँले स्मरण गर्नुभयो ।
यी पहाडी भेगमा छिट्टै आउन लागेको जाडोयामले सहयोगको प्रतिबद्धता पूरा हुने वा रकम निकासा हुने प्रतीक्षा नगर्ने भन्दै उहाँले नेपालले पुनर्निर्माणको काम सुरु गरिसकेकाले त्यसका लागि साथ दिन अनुरोध गर्नुभयो ।
कमेन्ट गर्नुहोस्