लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हलमा थपियो ‘कबड्डी ५’, डेढ करोडको ओपनिङ गर्ने प्रक्षेपण

IMG

बुटवल। यतिबेला हलमा फिल्मको चाप उच्च छ । स्वदेशी र विदेशी गरी करिब एक दर्जन फिल्म प्रदर्शन भइरहेका छन् । यस्तैमा शुक्रबार (आज)बाट नयाँ फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर २२० भन्दा बढी शो प्राप्त गरेको फिल्मले आक्रामक ओपनिङ गर्ने संकेत देखाएको छ ।रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्मको अग्रिम बुकिङमै एक सयभन्दा बढी शो हाउसफुल भइसकेका छन् । विशेषगरी पूर्वका धरान, इटहरी, दमक र विर्तामोडमा फिल्मको बुकिङ आक्रामक देखिएको छ । काठमाडौं, चितवन, नेपालगन्ज, बुटवल, पोखरा, दाङ, दमौली, कावासोतीलगायतका सहरमा पनि ठूलो संख्यामा फिल्मका टिकट बिक्री भएका छन् । 


देशभरको टिकट बुकिङको अवस्था हेर्दा फिल्मले वर्षकै सबैभन्दा ठूलो ओपनिङ पाउने सम्भावना देखिएको छ । अग्रिम बुकिङमै ५० लाखमाथिका व्यापार गरिसकेको फिल्मले डेढ करोड हाराहारीको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । ‘वर्ड अफ माउथ’ बलियो मिलेको खण्डमा भोलि शनिबार फिल्मले दुई करोडभन्दा बढीको व्यापार गर्न सक्ने देखिन्छ ।बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, मिरुना मगर, सिर्जना गुरुङ, रिश्मा गुरुङ, कमलमणि नेपाललगायतको अभिनय रहेको छ । फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) निर्मातामा छन् भने सागर राज सिनेमाका कार्यकारी निर्माताको रूपमा छन् ।

कमेन्ट गर्नुहोस्