
तिलोतमा। दुर्गा मन्दिर युवा क्लब (डीएमसी), तुलसीपुर–तिलोत्तमा–९ ले नेपाल रेडक्रस सोसाइटी रूपन्देही जिल्ला शाखा, बुटवलको प्राविधिक सहयोगमा आफ्नो आठौं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बढ्दो रगत अभावलाई मध्यनजर गर्दै आयोजित कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन्।
कार्यक्रममा ३७ जना पुरुष र १० जना महिला गरी कुल ४७ जनाले रक्तदान गरेका थिए। संकलित रगत बिरामीहरूको उपचारमा उपयोग हुने विश्वास व्यक्त गर्दै आयोजकले यस्ता सामाजिक अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिका–९ का वडाध्यक्ष ध्रुव न्यौपानेले रक्तदान मानव जीवन बचाउने सबैभन्दा ठूलो सामाजिक सेवामध्ये एक भएको बताउनुभयो। उहाँले रक्तदानले बिरामीलाई नयाँ जीवन दिने मात्र नभई समाजमा माया, सद्भाव र सहयोगको भावना विस्तार गर्ने उल्लेख गर्नुभयो। युवाहरूको सक्रिय सहभागिताले सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाएको भन्दै उहाँले क्लबको अभियानको प्रशंसा गर्नुभयो। क्लबका अध्यक्ष छवि श्रीसले पछिल्लो समय अस्पतालहरूमा रगतको अभाव बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले समाजमा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्दै नियमित रक्तदाता उत्पादन गर्ने उद्देश्यले क्लबले निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।त्य
त्यसैगरी तिलोत्तमा रक्तदाता समाज, रूपन्देहीका अध्यक्ष गोविन्द बन्जाडेले रक्तदानका फाइदाबारे जानकारी गराउँदै रक्तदानले बिरामीको जीवन बचाउनुका साथै रक्तदाताको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँले रक्तदान मानवता, परोपकार र सामाजिक एकताको उत्कृष्ट उदाहरण भएकाले स्वस्थ व्यक्तिहरूलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गर्नुभयो।कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता, युवाहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार आगामी वर्षहरूमा पनि रक्तदानसहित विविध सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ।
कमेन्ट गर्नुहोस्