लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा लैङ्गिक हिंसा अन्त्यका लागि पुरुष सञ्जालको क्षमता अभिवृद्धि तालिम सम्पन्न

IMG

तिलोत्तमा, शंकरपुर् । रुपन्देहीका तिलोत्तमा नगरपालिकाको आयोजनामा आइतबारबाट लैङ्गिक हिंसा अन्त्यका लागि पुरुष सञ्जालको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।दुई दिनसम्म सञ्चालन भएको तालिममा दाजुभाई संस्थाका प्रशिक्षक अशोक शिवाकोटीले सहजीकरण गर्नुभएको थियो । 


तालिममा नगरपालिकाले जारी गरेको सूचनाअनुसार सञ्जालमा रहन सूचीकृत विभिन्न उमेर समूहका पुरुषहरुको सहभागिता रहेको थियो  ।विश्व बैंकको सहयोगमा तिलोत्तमा नगरपालिकामा सञ्चालित लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तर्गत् तालिम आयोजना गरिएको हो । परियोजनाले लैङ्गिक हिंसा अन्त्यका लागि पालिकास्तरीय संयन्त्र निर्माण, सरोकारवालाहरुको क्षमता अभिवृद्धि, घटना व्यवस्थापन, कार्यविधिहरु निर्माण लगायतका काम गर्दै आएको छ । 


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामार्फत् कार्यान्वयनमा रहेको यो परियोजना जनवरी २०२८ सम्म संचालन हुने नगरपालिकाले जनाएको छ । तालिम उद्घाटन समारोहमा नगर उपप्रमुख जगेश्वरी देवि चौधरीले लैङ्गिक हिंसा अन्त्य महिलाको मात्र सवाल नभएकोले यो विषयमा पुरुषको पनि उत्तिकै ध्यान पुग्नुपर्ने बताउनुभएको थियो । तिलोत्तमा नगरपालिकाले लैङ्गिक हिंसा अन्त्यका लागि सुरुवात बाटै विभिन्न अभियान सञ्चालन गर्दै आएको स्मरण गर्दै उपप्रमुख चौधरीले परियोजना सुरु भएपछि यो अभियानमा थप टेवा पुगेको उल्लेख गर्नुभयो ।


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सम्झना भण्डारीले परियोजनाको उद्देश्य र हालसम्म भएका गतिविधिबारे जानकारी दिँदै पालिकामा लैङ्गिक हिंसा रोकथामका लागि संरचनागत व्यवस्था सुदृढ बनाइँदै गएको बताउनुभयो ।तालिममा लैङ्गिक समानता, हिंसाका प्रकार, कानुनी प्रावधान तथा समुदायस्तरमा खेल्नुपर्ने भूमिकाबारे अन्तरक्रियात्मक विधिमार्फत् सहजीकरण गरिएको थियो । सहभागीहरूलाई व्यवहारिक अभ्यास, समूह छलफल र अनुभव आदानप्रदान मार्फत लैङ्गिक हिंसा न्यूनीकरणमा पुरुषको भूमिकाबारे सचेत गराइएको प्रशिक्षक शिवाकोटीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्