लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मोटोपना घटाउन दक्षिण एसियाली १० विज्ञका १० टिप्स

IMG

काठमाडौं– पछिल्लो समय अस्वस्थ खानपान र विलासी जीवनशैलीका कारण मोटोपना विश्वव्यापी जनस्वास्थ्य चुनौतीको रूपमा उभिएको छ।   मोटोपनाले निम्त्याउने विभिन्न दीर्घरोगहरू बढ्दै गएपछि हालै काठमाडौंमा ‘दोस्रो अन्तर्राष्ट्रिय मोटोपना सम्मेलन’ सम्पन्न भएको छ ।उक्त सम्मेलनमा नेपाल, भारत र पाकिस्तानका १० जना वरिष्ठ जीवनशैली विज्ञ डाक्टरहरूले मोटोपना नियन्त्रण गरी स्वस्थ जीवन जिउनका लागि १० बुँदे साझा सुझाव प्रस्तुत गरेका छन् ।


१- आहार, विहार र विचारको त्रिवेणी

विज्ञहरूका अनुसार स्वस्थ रहन के खाने (आहार), कस्तो जीवनशैली अपनाउने (विहार) र कस्तो सोच राख्ने (विचार) भन्ने कुरामा सन्तुलन आवश्यक छ । सकारात्मक सोच र सक्रियता नै मोटोपना घटाउने पहिलो आधार हो ।


२- खानाको मात्रामा लगाम

स्वस्थकर खाना भन्दैमा धेरै खानु हानिकारक हुन सक्छ । शरीरलाई आवश्यक पर्ने क्यालोरीभन्दा बढी खानाले तौल बढाउने भएकाले के खाने भन्दा पनि ‘कति खाने’ भन्ने कुरामा सचेत हुनुपर्छ ।


३- चिनी र गुलियोलाई नाइँ भन्नुहोस्

तौल घटाउन चाहनेहरूका लागि चिनी सबैभन्दा ठूलो शत्रु हो । यसले शरीरमा बोसोको मात्रा तीव्र गतिमा बढाउने हुँदा चिनी र चिनीजन्य मिठाइहरू पूर्ण रूपमा त्याग्नुपर्छ ।


४- निश्चित समयभित्र भोजन

दिनभरिको खानालाई ८ देखि १० घण्टाको अन्तराल भित्र खाइसक्ने र बाँकी समय शरीरलाई आराम (फास्टिङ मोड)मा राख्दा बोसो पगाल्न मद्दत पुग्छ ।


५- शरीरको आवश्यकता पहिचान

अरूको देखासिखीमा वा स्वादका लागि धेरै खाने बानी छोड्नुपर्छ । आफ्नो शरीरको उचाइ र कार्यप्रकृति अनुसार कति ऊर्जा (क्यालोरी) चाहिन्छ, त्यति मात्र भोजन गर्नुपर्छ ।


६- भोजन गर्ने सही क्रम

धेरै क्यालोरी खानबाट बच्न भोजनको क्रम मिलाउनु पर्छ । पहिले प्रशस्त पानी पिउने, त्यसपछि सलाद वा सागपात खाने र अन्त्यमा मात्र मुख्य खाना (भात वा रोटी) खाने बानी बसाल्नुपर्छ ।


७- व्यायामको भ्रमबाट बच्ने

‘मैले व्यायाम गरेको छु, अब जति खाए पनि हुन्छ’ भन्ने सोच गलत हो । व्यायामले खर्च गर्ने क्यालोरी भन्दा बढी खाना खाइयो भने तौल घट्नुको साटो झन् बढ्छ ।


८- चपाएर खाने बानी

खानालाई निकै समय लगाएर चपाएर खाँदा पाचन प्रक्रिया सहज हुन्छ । यसले गर्दा मस्तिष्कले ुपेट भरिएकोु संकेत समयमै पाउँछ र मानिसले धेरै खान पाउँदैन ।


९- स्वादभन्दा पोषणलाई प्राथमिकता

जिभ्रोको स्वादका लागि अत्यधिक तेल, मसला र चिल्लो हालेको खानुभन्दा शरीरलाई पोषण दिने सादा र प्राकृतिक खानामा जोड दिनुपर्छ ।


१०- पर्याप्त र गहिरो निद्रा

दैनिक ७ देखि ८ घण्टाको गहिरो निद्रा मोटोपना घटाउन अनिवार्य छ । कम सुत्ने मानिसमा भोक जगाउने हर्मोन सक्रिय हुने र मेटाबोलिज्म सुस्त हुने भएकाले तौल घटाउन कठिन हुन्छ ।

विज्ञहरूका अनुसार यी १० उपायलाई नियमित पालना गर्दा शरीरमा स्फूर्ति आउनुका साथै दीर्घरोगको जोखिम समेत कम हुन्छ ।

कमेन्ट गर्नुहोस्