
तिलोत्तमा ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) रुपन्देहीको आयोजनामा ‘कक्षाकोठामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन’ विषयक विज्ञान शिक्षकहरूको एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका–९, शंकरपुरस्थित प्याब्सन सभाहलमा आयोजित कार्यक्रममा जिल्लाभरका विज्ञान विषय अध्यापन गराउने शिक्षकहरूको सहभागिता रहेको थियो। प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनालले विज्ञान शिक्षणलाई अझ प्रभावकारी, व्यवहारमुखी र विद्यार्थीकेन्द्रित बनाउन प्रशिक्षणको आयोजना गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णु पन्थीले पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि यस्ता प्रशिक्षण कार्यक्रम उपयोगी हुने बताउनुभयो । उहाँले बदलिँदो शैक्षिक परिवेश, कृत्रिम बुद्धिमत्ता (एआई) तथा वैज्ञानिक चिन्तनसँग सम्बन्धित विषयवस्तुलाई समेत प्रशिक्षणले समेटेको भन्दै शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथि तथा प्याब्सन केन्द्रीय कार्यसमिति सदस्य खेमेन्द्र रानाले यसखाले प्रशिक्षणले शिक्षकहरूको ज्ञान, सीप र सिकाइ उपलब्धिलाई थप सुदृढ बनाउँदै गुणस्तरीय शिक्षामा टेवा पु¥याउने धारणा राख्नुभयो । विषय विशेषज्ञ तथा पाठ्यपुस्तक लेखक डा. चिन्तामणि पन्थीले सहजीकरण गर्नुभएको कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा संगम पब्लिकेशनका सञ्चालक हरिप्रसाद अर्याल, भोजराज पौडेल, कपिलमणि ढकाल, गोकुल पोखरेल, लेखनाथ गैरे, गोपाल गौतम, मित्रहरि आचार्य, एन.बी. क्षेत्री लगायत शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको सहभागिता रहेको थियो । संगम पब्लिकेशनको सहकार्यमा सम्पन्न कार्यक्रमको स्वागत कुलराज शर्माले गर्नुभएको थियो भने सञ्चालन प्याब्सन रुपन्देहीका सचिव बोधराज पौडेलले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्