
काठमाडौँ, असार १२ गते । पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठ कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर मात्र सेवन गर्न आग्रह गर्नु भएको छ ।
पछिल्लो समय काठमाडौँ उपत्यकासहितका देशका विभिन्न जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमणको जोखिम बढ्दै गएकोले कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर मात्र सेवन गर्न उहाँले आग्रह गर्नुभएको हो । उहाँले बर्ड फ्लुको सङ्क्रमण देखिएसँगै धेरैले कुखुराको मासु र अण्डा खान मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा गर्ने हुँदा मासु र अण्डा राम्रोसँग पकाएर सेवन गर्दा भाइरस नष्ट हुने भएकाले त्यसबाट सङ्क्रमणको जोखिम अत्यन्त न्यून रहने डा. श्रेष्ठले स्पष्ट पार्नुभयो।
विभागका अनुसार पछिल्ला तीन महिनामा बर्ड फ्लुको सङ्क्रमण ११ जिल्लामा फैलिसकेको छ। श्रेष्ठका अनुसार बर्ड फ्लु चराचुरुङ्गी तथा कुखुराजन्य पक्षीमा देखिने अत्यन्त सङ्क्रामक विषाणुजन्य रोग हो। यो इन्फ्लुएन्जा ‘ए’ भाइरसका विभिन्न प्रकारबाट फैलिने गर्दछ।
कमेन्ट गर्नुहोस्