लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको रोहिणीघाट बेवास्तामा,जाने सहज बाटो छैन

IMG

रोहिणीपुल। तिलोत्तमा–११ स्थित रोहिणी घाटमा आवश्यक पूर्वाधार र व्यवस्थापनको अभाव हुँदा शव दाहसंस्कारका लागि पुग्ने मलामीले वर्षौंदेखि सास्ती खेप्नुपरेको स्थानीयवासीले बताएका छन्।घाटसम्म पुग्ने सहज बाटो नहुँदा शव लैजानै कठिन हुने गरेको छ। त्यस्तै, पानीको व्यवस्था, विद्युत् तथा रातिको प्रकाश, विद्युतीय शवदाह गृह, मलामी बस्ने सुरक्षित स्थान तथा शव दाहसंस्कारपछि आवश्यक व्यवस्थापन समेत नहुँदा समस्या थपिएको स्थानीयको भनाइ छ।


तिलोत्तमा नगरपालिकाका विभिन्न क्षेत्रमा रहेका मगर घाट, गोरकट्टा घाट, टिकुलिगढ घाट, सगरहवा लगायतका घाटमा पूर्वाधार तथा व्यवस्थापनका काम भइरहँदा रोहिणी घाट भने अझै पनि आधारभूत सुविधाबाट वञ्चित रहेको स्थानीयको गुनासो छ।शव दाहसंस्कारका लागि घाटमा पुगेपछि समेत पानीको अभाव, रातिको समयमा उज्यालोको समस्या तथा दाउरा व्यवस्थापनजस्ता विषयमा मलामीले कठिनाइ भोग्नुपरेको बताइएको छ। शव जलिसकेपछि बाँकी सामग्री व्यवस्थापन तथा नदीतर्फ सहज रूपमा लैजाने व्यवस्था नहुँदा वातावरणीय तथा व्यवहारिक समस्या समेत देखिएको स्थानीयको भनाइ छ। गाइ चौपाया लगायतका घरपालुवा जनावरहरु समेत मरेर नजिकै जंगलमा फालिदिदा त्यहा बस्न सक्ने अवस्था नहुने भएको छ। नदीको कटानले समेत त्यहा समस्या भएको छ। त्यसो त घाटसम्म जाने बाटो झाडी नै झाडीले असामान्य भै हिड्नै असहज भएको छ। 


स्थानीय सुरज ज्ञवालीले रोहिणी घाटको व्यवस्थापनमा सम्बन्धित निकाय र सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो। उहाँका अनुसार सहज आवतजावतका लागि बाटो, पर्याप्त पानी, बिजुली तथा प्रकाश, शव दाहसंस्कारपछि आवश्यक व्यवस्थापन र मलामी बस्ने सुरक्षित स्थानको तत्काल आवश्यकता रहेको छ।“शोकमा रहेका परिवार र मलामीहरूलाई शव दाहसंस्कार गर्न आउँदा थप दुःख र सास्ती खेप्नुपर्ने अवस्था छ। घाटमा आधारभूत सुविधा नहुँदा निकै समस्या भएको छ। यसको व्यवस्थापनमा सबैले चासो दिन आवश्यक छ,” ज्ञवालीले बताउनुभयो। उहाँले भन्नुभयो स्थानिय सरकारले यसलाई महत्व दिएर कि ब्यबस्थापन गर्नु पर्छ,बजेटको अभावमा स साना व्यवस्थापनको कुरा अल्झिनु राम्रो कुरा होइन। 


स्थानीयवासीले नगरपालिकाले अन्य घाटहरूमा जस्तै रोहिणी घाटलाई पनि प्राथमिकतामा राखी सहज बाटो, पानी, विद्युत्, शवदाह तथा मलामीका लागि आवश्यक पूर्वाधारसहित व्यवस्थित घाट निर्माण गर्न माग गरेका छन्।अहिले सो घाट कालिका सामुदायिक बनको ब्यबस्थापनमा संचालन भएको छ। 

कमेन्ट गर्नुहोस्