
कोटिहवा । लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवा, रुपन्देहीको आयोजनामा सम्पन्न २४औं लिस्नु कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि मोन्स्टर गाईज, सुनवल (नवलपरासी) ले जितेको छ ।आइतबार सम्पन्न फाइनलमा मोन्स्टरले आयोजक लिस्नु युवा क्लब, कोटिहवालाई ६–२ को फराकिलो अन्तरले हराउँदै पहिलोपटक लिस्नु कपको उपाधि उचाल्न सफल भएको हो ।
मोन्स्टरको जितमा बिक्की चाम्लिङ राई र बिन्देले दुई–दुई गोल गर्दा कप्तान सवी गुरुङ र सामुएल सुनारले समान एक–एक गोल गरे । उता पराजित लिस्नुका लागि भने गणेश हमाल र सुशिल राईले गोल गरेका थिए ।प्रतियोगिताको १२ तिम्लाई पराजित गरी बिजेता बनेको मोन्स्टरले उपाधिसहित नगद ३,५१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता लिस्नुले २,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
मोन्स्टर गाईजका सदिप केसी प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी घोषित भए । त्यसवापत उनले २५ हजारसहित आकर्षक गिफ्ट ह्याम्पर हात पारे । अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक मोन्स्टर कै प्रतिक सुनार बन्दा उत्कृष्ट रक्षक पनि मोन्स्टरका सिलाह बने । उत्कृष्ट मिडफिल्डरको पुरस्कार लिस्नुका सुशिल राईले हात पार्दा, सर्वाधिक गोलकर्ताको पुरस्कार मोन्स्टरका बिक्की चाम्लिङ राईले प्राप्त गरे । त्यस्तै उदियमान खेलाडी लिस्नुका विश्व थापा मगर बने । उत्कृष्ट बनेका सबैले जनही ११–११ हजार र ट्रफी हात पारे ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ का वार्ड अध्यक्ष खेमराज गुरुङ, लगायत वडा सदस्यहरु, वडा सचिव मान बहादुर खाती, विशिष्ठ अतिथी सह–प्रायोजक ठाकुर प्रसाद गुरुङ, पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुव कुमार श्रेष्ठ, आयोजक क्लबका अध्यक्ष तिर्थराज मल्ल लगायतले पुरस्कृत गरेका थिए ।साथमा फाइनल खेल हेर्न आउने दर्शकको टिकटमा साइकल समेत पुरष्कार राखिएको थियो। सो पुरष्कार अन्तिममा १ जनालाई गोलाप्रथा द्वारा प्रदान गरिएको थियो।
कमेन्ट गर्नुहोस्