लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा २ करोड लगानीमा १८ एमएम मुभी थिएटर र मिरर मेज सञ्चालन हुँदै

IMG

बुटवल। आन्तरिक पर्यटन प्रवद्र्धनसँगै मनोरञ्जनका नयाँ र फरक माध्यम भित्राउने उद्देश्यले रुपन्देहीमा बुटवलमा करिब २ करोड रुपैयाँ लगानीमा नयाँ प्रविधियुक्त १८ एमएम मुभी थिएटर र मिरर मेज (भुलभुलैया) सञ्चालनमा आउने भएको छ । बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्स रहेको स्थानमा नेक्स्टजेन एडभेन्चर इन्टरटेनमेन्ट प्रा.लि.ले सञ्चालनमा ल्याउन लागेको यो मनोरञ्जन केन्द्र आगामी कात्तिक १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने सञ्चालकहरूले बताएका छन् ।


परियोजनामा प्रकाश भुसाल, दीपक ढकाल, सिद्धार्थ थापा र सुदीप काफ्लेको लगानी रहेको छ । सञ्चालक दीपक ढकालका अनुसार बुटवलमा मनोरञ्जनका नयाँ गतिविधि थप्नुका साथै स्थानीय बासिन्दा, बाह्य पर्यटक तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले परियोजना अघि बढाइएको हो ।मनोरञ्जन केन्द्रको प्रमुख आकर्षणका रूपमा रहने १८ एमएम मुभी थिएटरमा चलचित्र हेर्दा केवल पर्दामा दृश्य हेर्ने मात्र नभइ चलचित्रका दृश्यअनुसार विशेष प्रभावको अनुभूति लिन सकिने सञ्चालकहरूको भनाइ छ । चलचित्रमा देखिने विभिन्न दृश्यलाई विशेष प्रभावसँग जोडेर दर्शकलाई आफू पनि त्यही दृश्यको हिस्सा बनेजस्तो अनुभव गराउने उद्देश्य थिएटरको रहेको छ । यसले परम्परागत रूपमा चलचित्र हेर्ने अनुभवभन्दा फरक, रोमाञ्चक र सहभागीतामूलक मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।


चलचित्रका दृश्यसँगै आउने प्रभावले दर्शकमा उत्साह, रोमाञ्च र कौतुहलता बढाउने भएकाले विशेष गरी बालबालिका, युवा तथा परिवारका सदस्यका लागि यस्तो थिएटर नयाँ अनुभव बन्न सक्ने सञ्चालकहरूको केन्द्रको अर्को प्रमुख आकर्षण मिरर मेज अर्थात् ऐनाको भुलभुलैया हुनेछ ।

ऐनै–ऐनाले बनाइएको संरचनाभित्र प्रवेश गरेपछि एउटै स्थानमा अनेकौं बाटा र प्रतिबिम्ब देखिने भएकाले बाहिर निस्कने बाटो पहिचान गर्नु नै चुनौतीपूर्ण हुन्छ । मिरर मेज केवल मनोरञ्जनको माध्यम मात्र नभइ दृश्य भ्रम, दिशाबोध र समस्या समाधान गर्ने क्षमतासँग जोडिएको अनुभव पनि हो ।ऐनामा देखिने असंख्य प्रतिबिम्बका कारण वास्तविक बाटो र प्रतिबिम्बबीच छुट्याउन कठिन हुने भएकाले सहभागीले धैर्य र ध्यानपूर्वक बाटो खोज्नुपर्ने हुन्छ । यही कारण मिरर मेज बालबालिका, युवा तथा परिवारका सदस्यहरू सँगै सहभागी भएर रमाइलो गर्न सक्ने मनोरञ्जनको माध्यम बन्ने अपेक्षा गरिएको छ ।


सामाजिक सञ्जालका लागि फोटो तथा भिडियो बनाउन चाहनेहरूका लागि पनि यस्तो संरचना आकर्षणको केन्द्र बन्न सक्ने देखिन्छ । सञ्चालक प्रकाश भुसालका अनुसार नयाँ मनोरञ्जन केन्द्रले बुटवल घुम्न आउने आन्तरिक पर्यटकका लागि थप एउटा गन्तव्य सिर्जना गर्नेछ । ‘बुटवलमा घुम्न र मनोरञ्जन गर्न आउने आन्तरिक पर्यटकले नयाँ अनुभव लिन सकून् भन्ने उद्देश्यले परियोजना अघि बढाएका हौं,’ भुसालले भन्नुभयो । उहाँका अनुसार मनोरञ्जन केन्द्रले पर्यटकको बसाइ लम्ब्याउन सहयोग गर्नुका साथै स्थानीय क्षेत्रमा आर्थिक गतिविधि बढाउनसमेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


बुटवल पछिल्लो समय व्यापार, शिक्षा, स्वास्थ्य तथा पर्यटनका गतिविधिको केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट बुटवलमा आउने मानिसका लागि नयाँ प्रकृतिका मनोरञ्जनात्मक गतिविधि थपिँदा शहरको पर्यटन आकर्षणसमेत बढ्न सक्ने व्यवसायीहरूको अपेक्षा छ ।सञ्चालकका अनुसार केन्द्रमा प्रवेश तथा मनोरञ्जनका लागि प्रतिव्यक्ति ३५० रुपैयाँ टिकटदर तोकिएको छ । संस्थागत तथा समूहगत रूपमा आउने दर्शकका लागि भने विशेष छुट वा सहुलियतको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ ।नयाँ पुस्ता, परिवार र पर्यटकलाई लक्षित गरेर फरक किसिमको मनोरञ्जन उपलब्ध गराउने तयारी गरिएको सञ्चालकहरूले बताएका छन् । लस्थानीय पर्यटनमा नयाँ गन्तव्य थप्ने उद्देश्यसहित निजी क्षेत्रबाट गरिएको यस्तो लगानीले बुटवलको मनोरञ्जन व्यवसायलाई थप विविध बनाउन सक्ने अपेक्षा गरिएको छ ।


चलचित्र, विशेष प्रभाव र मिरर मेजजस्ता नयाँ अनुभव एउटै केन्द्रमा उपलब्ध हुने भएकाले सञ्चालनपछि यसको आकर्षण कति बढ्छ भन्ने कुरा भने आगामी दिनमा देखिनेछ ।

कमेन्ट गर्नुहोस्