
तिलोत्तमा (रुपन्देही) । रुपन्देहीको तिलोत्तमामा जारी प्रतिष्ठित ३८ औं झरना रनिङ नकआउट फुटबल प्रतियोगितामा आयोजक झरना स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।आज भएको रोमाञ्चक क्वाटरफाइनल खेलमा मुर्गिया फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै झरना स्पोर्ट्स क्लबले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।
घरेलु मैदानमा झरना स्पोर्ट्स क्लबलाई जित दिलाउन आशिष ज्ञवाली र आसमान थापा क्षेत्रीले १–१ गोल गरे। खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनाएको झरनाका लागि आशिष ज्ञवालीले सुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि आसमान थापा क्षेत्रीले दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे।खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका झरना स्पोर्ट्स क्लबका आशिष ज्ञवाली खेलको 'म्यान अफ द म्याच' घोषित भए।
प्रतियोगिता अन्तर्गत भोलि दोस्रो क्वाटरफाइनल खेल हुनेछ, जसमा भैरव स्पोर्ट्स क्लब र योङ स्टार क्लब बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।झरना स्पोर्ट्स क्लबको आयोजनामा जारी यस प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछ।
कमेन्ट गर्नुहोस्