
तानसेन। सिद्धार्थ राजमार्ग भाँसिदा ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्लाको माथागढी –१, धैरेनीस्थित सडक भाँसिदा ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।मङ्गलबार बिहान राजमार्गको १५–२० मिटर भाग भाँसिएपछि हेभी सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । भासिएको सडकको अवस्था हेरेर हाललाई साना सवारी साधनलाई मात्र सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
तत्कालका लागि सडकमा ठुला सवारीसाधन सञ्चालन गर्ने अवस्था नभएको पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो । भारी वर्षापछि गलेको जमिनको भाग घाम लाग्नासाथ खसेपछि सडक आंशिक रुपमा अबरुद्ध भएको उहाँले बताउनुभयो ।पहिरो गएको स्थानमा माथिबाट सडक चौडा गर्ने अवस्था पनि कम रहेको र तल्लो भागबाट सडकको सुरक्षा गर्ने अवस्था नरहेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
पानी परेको अवस्थामा सो स्थानमा पुनः पहिरो जान सक्ने भएकाले यात्रु तथा सवारीसाधनले सचेत भएर मात्र यस क्षेत्रमा यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।सडक भाँसिएपछि पोखराबाट पाल्पा बुटवल हिँडेका सवारीसाधन र पाल्पा हुँदै पोखरा जान लागेका ठूला सवारीसाधन बिच बाटोमै रोकिएका छन् ।
कमेन्ट गर्नुहोस्