लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी

IMG

सिद्धार्थनगर । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले आगामी दिनमा आफू पार्टी, जनता र राष्ट्रको सेवामा समर्पित भएर अघि बढ्ने बताउनुभएको छ ।एमालेले असोज ८ गते उहाँलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेपछि रुपन्देहीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले पार्टीको निर्णय स्वीकार गर्दै आगामी दिनमा पार्टीलाई थप ऊर्जा दिने बताउनुभएको हो । उक्त निर्णयलाई एमाले केन्द्रीय कमिटीले समेत अनुमोदन गरिसकेको छ।


‘अब यहाँभन्दा माथि जाने ठाउँ छैन । राष्ट्रपति भइसकेँ, अब कहाँ जाने ? पदका हिसाबले माथि पुगिसकेँ । अब जाने भनेको स्वर्ग हो,’ उहाँले भन्नुभयो, ‘तर राष्ट्र र जनताका लागि काम गर्ने इच्छा अझै छ । त्यसैले यही पार्टीमा रहेर काम गर्छु ।’बाल्यकालदेखि नै एमालेमा आबद्ध भएर सामाजिक सेवा तथा सामाजिक कुरीतिविरुद्धका अभियानमा सहभागी हुँदै आएको स्मरण गर्दै उहाँले पार्टी, समाज र राष्ट्रका लागि निरन्तर काम गर्दै आएको बताउनुभयो । विगतको वाम आन्दोलनका क्रममा आफूले विभिन्न समस्या भोग्नुपरे पनि राजनीतिक आस्था परिवर्तन नगरेको उहाँले उल्लेख गर्नुभयो ।


पार्टी नेतृत्वबाट भएका गल्ती तथा कमजोरीलाई स्वीकार गर्दै त्यसलाई सच्याएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।उहाँले विगतमा भएका पार्टी विभाजनले एमालेसहित समग्र वाम आन्दोलनमा असर परेको बताउनुभयो । २०७४ सालको निर्वाचनमा वाम एकता र सहकार्यबाट राम्रो परिणाम प्राप्त भएको उल्लेख गर्दै उहाँले पछि एकता भङ्ग हुँदा पार्टी विभाजनसँगै ठुलो राजनीतिक क्षति भएकोसमेत बताउनुभयो ।‘नेतृत्वको गल्तीको असर तलसम्म पर्छ । त्यसैले हामीभित्र रहेका कमी–कमजोरी सुधारेर अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो ।


नेपालमा वाम आन्दोलन बलियो भएको हेर्न नचाहने तत्त्वहरू पनि रहेको उल्लेख गर्दै भण्डारीले जनताको आस्था जबरजस्ती परिवर्तन गर्न नसकिने बताउनुभयो ।मूलधारका राजनीतिक दलहरू विभाजन हुन नहुनेमा जोड दिँदै उहाँले पार्टी विभाजनको असर समग्र राजनीतिक क्षेत्रमा पर्ने बताउनुभयो । ‘हामीले हाम्रो आवश्यकता के हो, जिल्लाको आवश्यकता के हो र राष्ट्रको आवश्यकता के हो भन्ने आधारमा एकता कायम गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।


एउटा निर्वाचनको परिणामलाई आधार बनाएर निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै भण्डारीले एमाले नै वाम आन्दोलन, देशभक्तिको आन्दोलन र सामाजिक न्यायको विकल्प भएको दाबी गर्नुभयो ।‘म यही पार्टीबाट हुर्किएर देशको राष्ट्रपतिसम्म भएँ । अब यही आन्दोलनलाई बलियो बनाउने मेरो चाहना हो,’ उहाँले भन्नुभयो । राष्ट्रिय विषयमा समेत एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय स्वाभिमान जोगाउने र नेपाली जनताको जीवनस्तर सुधार गर्ने काममा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो । 

तस्बीर : सुरेन्द्र श्री 

कमेन्ट गर्नुहोस्