
बालबालिकालाई खाना खुवाउन मोबाइल वा ट्याब देखाउने बानी धेरै घरमा सामान्यजस्तै भइसकेको छ । बिस्तारै यही बानीका कारण बच्चाले स्क्रिनबिना खाना खानै नमान्ने हुन्छ ।यस्तो बानी एकै दिनमा बसेको हुँदैन, त्यसैले एकै दिनमा हटाउन पनि गाह्रो हुन्छ । माया, धैर्य र केही निश्चित नियमको सहायताले भने यसलाई विस्तारै परिवर्तन गर्न सकिन्छ ।
१. कारण बुझ्ने
खाना खाने समयमा बच्चाले मोबाइल वा टेलिभिजन हेर्छ भन्दैमा उसलाई स्क्रिनको लत लागेको हुन्छ भन्ने होइन । कतिपय अवस्थामा यसको पछाडि फरक–फरक कारण हुन सक्छन् ।बच्चालाई खाना मन नपर्नु, भोक कम लाग्नु, खाना खान लामो समय लाग्नु वा अभिभावकको ध्यान आकर्षित गर्न बच्चाले मोबाइल माग्नु यसको कारण हुन सक्छ ।त्यसैले अचानक मोबाइल खोस्नुको सट्टा बच्चाको व्यवहारको कारण बुझ्ने प्रयास गर्नुपर्छ । उसलाई माया गरेर सम्झाउनुपर्छ र विस्तारै स्क्रिनबिनै खाना खाने बानी बसाल्नुपर्छ ।
२. स्क्रिन एकैपटक बन्द नगर्ने
यदि बच्चा लामो समयदेखि मोबाइल हेर्दै खाना खाने बानीमा छ भने अचानक स्क्रिन बन्द गर्दा उसले विरोध गर्न सक्छ । त्यसैले बिस्तारै समय घटाउन सकिन्छ । उदाहरणका लागि, पहिले ३० मिनेट मोबाइल हेरेर खाना खान्थ्यो भने केही दिन २० मिनेटमा झार्ने र त्यसपछि १० मिनेटमा सीमित गर्दै अन्ततः खाना खाने समय पूर्ण रूपमा स्क्रिनरहित बनाउन सकिन्छ ।खाना खानुअघि नै बच्चालाई ‘आज खाना खाँदा मोबाइल हेर्दैनौँ है’ भनेर जानकारी दिनु पनि उपयोगी हुन्छ । नियम अचानक लागू गर्नुभन्दा पहिले नै सम्झाउँदा बच्चालाई स्वीकार गर्न सजिलो हुन्छ ।
३. खानाको समय रमाइलो बनाउने
खाने टेबलमा कुराकानी, हाँसो–मजाक र रमाइला विषयमा कुरा गर्ने वातावरण बनाउने हो भने बच्चाको ध्यान आफैं स्क्रिनबाट हट्न सक्छ । बच्चालाई ‘आज स्कुलमा के भयो ?’ भनेर सोध्न सकिन्छ । घरमा भएको कुनै रमाइलो घटना सुनाउन सकिन्छ । सप्ताहन्तमा कहाँ घुम्न जाने भनेर परिवारसँगै योजना बनाउन सकिन्छ ।यसरी खानाको समयलाई केवल खाना खाने समय नभई परिवारका सदस्यबीच कुराकानी र आपसी सम्बन्ध बलियो बनाउने समयका रूपमा विकास गर्न सकिन्छ ।
४. खानाको दिनचर्यामा ध्यान दिने
बच्चाले नियमित समयमा खाना खाने र नास्ता गर्ने बानी बसाल्नु पनि महत्वपूर्ण हुन्छ । खाना र नास्ताको समय निश्चित गर्दा बच्चालाई समयमै भोक लाग्ने बानी बस्न सक्छ र खानामा उसको ध्यान बढ्न सक्छ ।खाना खानुभन्दा केही समयअघि धेरै स्न्याक्स, जुस वा अन्य खानेकुरा दिनु हुँदैन । पेट भरिएको अवस्थामा बच्चाले मुख्य खाना खान रुचि नदेखाउन सक्छ र खाना खान लगाउँदा फेरि मोबाइल वा टेलिभिजनको सहारा खोज्न सक्छ ।
५. बच्चालाई विकल्प दिने
मोबाइल नदिएर मात्र हुँदैन, त्यसको सट्टा बच्चालाई के गर्ने भन्ने विकल्प पनि दिनुपर्छ । खाना खानुअघि चित्र बनाउने, कथा सुन्ने, परिवारसँग कुरा गर्ने वा खाना तयार पार्न सानो काममा सहभागी गराउने गर्न सकिन्छ । सानो बच्चालाई ‘पहिले खाना खाने कि पानी पिउने ?’, ‘आज कुन तरकारी खाने ?’ जस्ता सीमित विकल्प दिन सकिन्छ । यसले बच्चालाई आफ्नो निर्णयमा सहभागी भएको महसुस गराउँछ ।
६. खाना जबरजस्ती नखुवाउने
मोबाइल हटाएपछि बच्चाले खाना कम खायो भन्दैमा अभिभावकले डराएर फेरि मोबाइल देखाउने वा जबरजस्ती खाना खुवाउने गर्नु हुँदैन । बच्चाले कति खाना खाने भन्ने कुरा पनि उसको भोक र आवश्यकताअनुसार फरक हुन सक्छ । अभिभावकले स्वस्थ र सन्तुलित खाना उपलब्ध गराउने र बच्चालाई आफ्नो भोकअनुसार खान दिने वातावरण बनाउनु राम्रो हुन्छ । तर बच्चाले लगातार खाना अस्वीकार गर्छ, तौल वा उचाइअनुसार विकास भइरहेको छैन वा खानासम्बन्धी अन्य समस्या देखिन्छ भने बालरोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।
७. कुराकानी गर्ने बानी बसाल्ने
हरेक पटक खाना खाने समयलाई बच्चाका लागि बोरिङ बनाउनु हुँदैन । उसलाई स्क्रिनमा व्यस्त राख्नुको सट्टा परिवारसँग कुराकानी गर्ने वातावरण बनाइदिनुपर्छ ।उदाहरणका लागि, घरका सबै सदस्यले दिनभरि आफूलाई भएको एउटा राम्रो कुरा सुनाउने नियम बनाउन सकिन्छ । एकअर्कालाई रमाइला प्रश्न सोध्न सकिन्छ । यसले बच्चाका लागि खानाको समय परिवारसँग कुराकानी गर्ने र भावनात्मक रूपमा जोडिने अवसर बन्न सक्छ ।
८. बच्चाले सुरुमा विरोध जनाए सामान्य रूपमा लिने
मोबाइल वा टेलिभिजन हटाउँदा बच्चाले सुरुमा रोएर वा रिसाएर प्रतिक्रिया दिन सक्छ । खाना छोड्न सक्छ वा पटक–पटक फोन मागेर अभिभावकको ध्यान आकर्षित गर्न सक्छ । यस्तो अवस्थामा अभिभावकले पनि रिस नियन्त्रण गर्न आवश्यक हुन्छ ।बच्चाको माग पूरा गर्न हरेक पटक मोबाइल दिइरहँदा उसको बानी झन् बलियो हुन सक्छ । त्यसैले शान्त भएर एउटै नियम निरन्तर पालना गर्नु राम्रो हुन्छ । तर यात्रा गर्नुपरेमा, बच्चा बिरामी भएमा वा कुनै विशेष परिस्थितिमा नियममा केही छुट दिनुपरेमा त्यसलाई लिएर तनाव लिनु पर्दैन । परिस्थिति सामान्य भएपछि फेरि नियमित दिनचर्यामा फर्किन सकिन्छ ।
९. अभिभावक पनि उदाहरण बन्ने
बच्चालाई खाना खाने बेला मोबाइल नचलाउन सिकाउने हो भने अभिभावकले पनि खाना खाने बेला फोनमा व्यस्त हुनु हुँदैन । बच्चाले धेरै कुरा अभिभावकको व्यवहार हेरेर सिक्छ ।खाने टेबलमा सबैले मोबाइल एकातिर राख्ने नियम बनाउन सकिन्छ । यसले बच्चालाई मात्र होइन, परिवारका सबै सदस्यलाई स्क्रिनबाट केही समय टाढा राख्न मद्दत गर्छ ।
१०. लक्ष्य मोबाइल छुटाउनु मात्र नराख्ने
बच्चालाई खाना खाने बेला मोबाइल वा टेलिभिजनबाट टाढा राख्नुको उद्देश्य केवल उसको स्क्रिनको बानी हटाउनु मात्र होइन । मुख्य कुरा उसलाई स्क्रिन नहेरी पनि खाना रमाइलो हुन्छ र परिवारसँग बसेर खान सकिन्छ भन्ने अनुभव गराउनु हो ।बच्चाको स्क्रिन हेर्ने बानी एकै दिनमा परिवर्तन हुँदैन । सुरुमा उसले विरोध गर्न सक्छ, केही दिन खाना कम खान सक्छ वा पटक–पटक मोबाइल माग्न सक्छ । यस्तो अवस्थामा अभिभावकले धैर्य गुमाउनु हुँदैन ।माया, धैर्य, नियमित दिनचर्या, स्पष्ट नियम र परिवारसँगको कुराकानीका माध्यमबाट बिस्तारै स्क्रिनबिनै खाना खाने स्वस्थ बानी विकास गर्न सकिन्छ ।
कमेन्ट गर्नुहोस्