लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यू इन्भारमेन्ट स्कुलमा कक्षा ८ का विद्यार्थीको प्रस्तुति तथा अभिभावकबीच अन्तरक्रिया सम्पन्न

IMG

रुपन्देही । न्यू इन्भारमेन्ट इङ्लिस सेकेन्डरी स्कुलमा कक्षा ८ का विद्यार्थीहरूको प्रस्तुति तथा अभिभावक अन्तरक्रिया कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।कक्षा ८ का विद्यार्थी कृष्ण गिरीको अध्यक्षता तथा विद्यालयका प्रबन्ध निर्देशक हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवाली, उपप्राचार्यद्वय ध्रुव खरेल र पदम राना तथा माध्यमिक तह इन्चार्ज नवीन ज्ञवाली लगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा छात्रा न्यान्सी कुँवरले स्वागत मन्तव्य राखेकी थिइन्। प्रविर ज्ञवालीले सरस्वती वन्दना तथा आरुषी घिमिरेले पञ्चशील प्रस्तुत गरेकी थिइन्। कार्यक्रमको सञ्चालन विद्यार्थी क्रिस्मा न्यौपानेले गरेकी थिइन् भने शिष्टता पाण्डेको समूहले विद्यालय गान प्रस्तुत गरेको थियो।विद्यार्थीहरूले सङ्क्षिप्त दृश्यात्मक प्रस्तुति, विभिन्न क्लबका गतिविधि, कविता वाचन, पुस्तक समीक्षा, विद्यार्थी गुणस्तर चक्रसम्बन्धी प्रस्तुति, गितारवादन तथा भजन–सङ्गीत प्रस्तुत गरेका थिए।विद्यार्थीहरूको प्रस्तुति अवलोकन गर्न उपस्थित अभिभावकहरूले आफ्ना बालबालिकाको प्रतिभा प्रत्यक्ष रूपमा हेर्ने अवसरसमेत पाएका थिए।


कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रबन्ध निर्देशक हरिप्रसाद न्यौपानेले बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय र अभिभावकबीचको सहकार्य अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै सिर्जनशीलता, आत्मविश्वास, अनुशासन तथा व्यवहारिक क्षमताको विकासमा विद्यालय र परिवार दुवैको समान भूमिका रहने धारणा व्यक्त गर्नुभयो।त्यसैगरी, विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले ‘असल अभिभावकत्व’ विषयमा अभिभावक केन्द्रित प्रस्तुति दिनुभएको थियो। उहाँले सकारात्मक अभिभावकत्व, गुणस्तरीय पारिवारिक समय, प्रभावकारी संवाद, खेलकुद, पढ्ने बानी, भावनात्मक सुरक्षा तथा प्रविधिको सन्तुलित प्रयोगजस्ता विषयमा अभिभावकलाई मार्गदर्शन गर्नुभएको थियो।


अभिभावक अन्तरक्रियाका क्रममा सहभागीहरूले विद्यालयको शैक्षिक वातावरण, विद्यार्थीको समग्र विकास तथा बालबालिकाको भविष्यसँग सम्बन्धित आफ्ना सुझाव, अनुभव र जिज्ञासा प्रस्तुत गरेका थिए भने बिद्यालयको तर्फबाट जिज्ञासाको समाधान गरिएको थियो। 


कमेन्ट गर्नुहोस्