
तिलोत्तमा । २४औँ लिस्नु कप २०८३ अन्तर्गत शनिबार भएको खेलमा देवदह ब्वाइज विजयी भएको छ। पशुपति माध्यमिक विद्यालयको खेलमैदान, तिलोत्तमा–१५ कोटिहवामा भएको खेलमा देवदह ब्वाइजले नवयुवा सांस्कृतिक तथा खेलकुद परिवार ठुटिपिपललाई १–० गोलअन्तरले पराजित गरेको हो।
खेलको पहिलो हाफमा देवदह ब्वाइजका जर्सी नम्बर ७ का सुजीत बुढाथोकीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा बनाएको १–० को अग्रता देवदहले दोस्रो हाफमा पनि कायम राख्यो।दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल देवदह ब्वाइजले १–० ले आफ्नो पक्षमा पार्यो। खेलमा निर्णायक गोल गरेका सुजीत बुढाथोकी म्यान अफ द म्याच घोषित भए।
लिस्नु युवा क्लब, तिलोत्तमाको आयोजनामा जारी २४औँ लिस्नु कप २०८३ को खेल तिलोत्तमा–१५ कोटिहवास्थित पशुपति माविको खेलमैदानमा भइरहेको छ।प्रतियोगिता अन्तर्गत असोज ४ गते आइतबारको खेल फुलबारी गाइजलाई ठुलो गोल अन्तरले हराएको कपिलबस्तु ११ र झरना स्पोर्ट्स क्लब कुञ्जलापुरबीच हुने खेल संयोजक रोमन गुरुङले जानकारी दिए । लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही असोज ११ गतेका दिन हुनेछ ।
कमेन्ट गर्नुहोस्