
विश्वका प्रमुख कफी उत्पादन गर्ने देशहरूमा जलवायु परिवर्तनका कारण गर्मी बढ्दा उत्पादनमा गम्भीर असर पारेको वैज्ञानिकहरूले बताएका छन् ।
स्वतन्त्र अनुसन्धान संस्था क्लाइमेट सेन्ट्रलले सार्वजनिक गरेको विश्लेषणअनुसार सन् २०२१ देखि २०२५ सम्म विश्वका २५ प्रमुख कफी उत्पादक देशहरूमा प्रतिवर्ष औसत ४७ दिन ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन भएको छ । यो तापक्रम कफी बिरुवाका लागि अत्यन्त जोखिमपूर्ण मानिन्छ । विश्वको झन्डै ७५ प्रतिशत कफी उत्पादन गर्ने ब्राजिल, भियतनाम, कोलम्बिया, इथियोपिया र इन्डोनेशियामा भने यो अवधि औसत ५७ दिनसम्म पुगेको छ ।
संस्थाका विज्ञान उपाध्यक्ष क्रिस्टिना डाहलका अनुसार जलवायु परिवर्तनले कफी खेतीलाई प्रत्यक्ष रूपमा चुनौती दिइरहेको छ र प्रायः सबै प्रमुख उत्पादक देशहरूमा अहिले लामो समयसम्म चरम गर्मी देखिन थालेको छ । चरम गर्मीले बिरुवालाई क्षति पुर्याउने, उत्पादन घटाउने र गुणस्तरमा असर पार्ने जोखिम बढ्दो छ ।
अमेरिकामा खपत हुने कफीको झन्डै एकतिहाइ ब्राजिलबाट आयात हुने भएकाले त्यहाँको उत्पादनमा आएको कमीले विश्व बजारमा सीधै मूल्यवृद्धि निम्त्याउँछ । वैज्ञानिकहरूका अनुसार यसको प्रभाव खेतबाट उपभोक्तासम्म पुग्दै दैनिक कफीको स्वाद र मूल्य दुवैमा क्रमशः देखिँदै जानेछ ।
कमेन्ट गर्नुहोस्