लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि

IMG

सिद्धार्थनगर, साउन ५ गते । बुटवलको पुरानो बसपार्कमा रहेको थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएको हरियो खुर्सानीमा अत्यधिक मात्रामा विषादी प्रयोग गरेको भेटिएको छ । 


विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलले थोक बजार केन्द्रमा मंगलबार बिहान हरियो तरकारी तथा फलफूलको नमुना परीक्षण गर्दा खुर्सानीमा अत्यधिक विषादी प्रयोग गरेको पुष्टि भएको हो । 


सल्यानको कपुरकोट गाउँपालिकास्थित ओम निखिलम तरकारी पसलबाट आएको हरियो खुर्सानीमा अर्गानोफस्फेट समूहको विषादीको मात्रा ५९।५२ प्रतिशत भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलका नायब प्राविधिक सहायक राजीव भण्डारीले जानकारी दिनुभयो । ‘सामान्यता :  कुनै पनि तरकारीमा कार्वामेट र अर्गानोफस्फेट समूहको विषादी मात्रा ३५ प्रतिशतभन्दा कम भएमा खान योग्य मानिन्छ । ३५ प्रतिशतदेखि ४५ प्रतिशत भएमा केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गरी खान मिल्ने र विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी देखियो भने त्यसलाई खान योग्य मानिँदैन र नष्ट गर्नुपर्छ,’ उहाले भन्नुभयो ।


हरियो खुर्सानीसँगै काउली, काँक्रो, सिमी, भान्टा, बोडी, घिरौला, गाँजर, गोलभेँडा, तनेबोडी, तितेकरेला, भिण्डी, आँप, डल्ले खुसार्नी र हरियो धनियाँको नमुना परीक्षण गरिएको नायब प्राविधिक सहायक भण्डारीले बताउनुभयो । परीक्षण गरिएका अन्य तरकारीमा विषादीको मात्रा सामान्य भेटिएको उहाले  जानकारी दिनुभयो । 


विषादीयुक्त खुर्सानीलाई बुटवल उपमहानगरपालिकासँगको समन्वयमा नष्ट गरिएको छ । हरेक दिन थोक बजारमा आउने तरकारी तथा फलफूलको बिहानै विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले नमुना संकलन गरी परीक्षण गर्दै आएको छ ।


तर, बुटवलको थोक बजारभन्दा बाहिरबाट बिक्री हुने तरकारीमा विषादी परीक्षण हुन सकेको छैन ।यसअघि तने बोडी, काउली र काँक्रोमा पनि अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।

कमेन्ट गर्नुहोस्