लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा पार्क : तिनाउ किनारको हरियालीसँगै झकिझकाउ बन्यो, पर्यटक आकर्षित

IMG

तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा तिनाउ नदीको किनारमा अवस्थित तिलोत्तमा सामुदायिक पार्क पछिल्लो समय स्थानीयवासी तथा आन्तरिक पर्यटकका लागि आकर्षक घुमघाम र मनोरञ्जनको गन्तव्य बन्दै गएको छ। सुन्दर हरियाली, आकर्षक बगैँचा, बाल उद्यान, वनभोज स्थल तथा विभिन्न खेलकुद संरचनाले पार्कको सुन्दरता थप बढाएको छ।


प्रकृतिसँग रमाउन चाहने, परिवारसहित घुम्न आउने तथा आफ्ना बाबुनानीलाई सुरक्षित र रमणीय वातावरणमा खेलाउन चाहनेका लागि तिलोत्तमा पार्क उपयुक्त गन्तव्य बनेको छ। पार्क परिसरमा निर्माण गरिएको आकर्षक बाल उद्यानले बालबालिकालाई विशेष आकर्षित गर्ने गरेको छ भने वनभोजका लागि निर्माण गरिएका सेडहरूले पिकनिकमा आउने समूहलाई सहज बनाएको छ।पार्कभित्र कभर्ड हल, खेलमैदान, खुला व्यायाम स्थल तथा चिल्ड्रेन पार्क निर्माण गरिएको छ। साथै ब्याडमिन्टन कभर्ड हल, खेलमैदान र फलफूल पार्कसमेत निर्माण तथा विकासको क्रममा रहेका छन्। अत्यन्तै सुन्दर र सफा वातावरण, हरियाली तथा विभिन्न मनोरञ्जनात्मक संरचनाका कारण पार्क पिकनिक र पारिवारिक घुमघामका लागि पनि आकर्षक बन्दै गएको छ।


पार्क समितिका अध्यक्ष दिपक पाठकका अनुसार विगत सात वर्षको अवधिमा पार्कमा करिब ५ करोड रुपैयाँको लगानीमा विभिन्न संरचनाहरू निर्माण गरिएको छ। पार्कलाई थप व्यवस्थित र आकर्षक बनाउन हरियाली विस्तारसँगै वनभोजका लागि सेड तथा अन्य आवश्यक पूर्वाधारहरू निर्माण गरिएको उहाँले जानकारी दिनुभयो।तिनाउ नदीको किनारमा रहेको हरियालीयुक्त तिलोत्तमा पार्क केवल मनोरञ्जनको स्थल मात्र नभई नगरको सुन्दरता, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनसँग पनि जोडिएको छ। बोटबिरुवासँग रमाउन, बालबालिकालाई खेलाउन, खुला वातावरणमा व्यायाम गर्न तथा परिवार र साथीभाइसँग वनभोज मनाउन चाहनेका लागि यो पार्क एक रमणीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।सफा, सुन्दर र हरियालीयुक्त तिलोत्तमा पार्कले रुपन्देहीका बुटवल,शुद्धोदन,सियारी,रोहिणी, देवदह र तिलोत्तमा क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्