लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

धुर्कोट ग्रेटवाल पर्यटकीय आकर्षणका रूपमा विकास

IMG

रेसुङ्गा (गुल्मी), साउन ६ गते । गुल्मीको धुर्कोट गाउँपालिकाले एक किलोमिटर लामो धुर्कोट ग्रेटवाल निर्माण गरेको छ । धुर्कोट गाउँपालिका–६, धुर्कोट रजस्थलको ऐतिहासिक कोत र बुढीकोट जोड्ने गरेर धुर्कोट ग्रेटवाल निर्माण गरिएको हो । अग्लो डाँडो र चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने भएकाले धुर्कोट ग्रेटवाल पर्यटकीय आकर्षणका रूपमा विकास भएको छ । 


धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलले पर्यटकलाई कम्तीमा दुई दिन घुमेर धुर्कोटमा बास बस्ने बनाउन गाउँपालिकाले पर्यटकीय संरचनाहरूको निर्माण गरिरहेको बताउनुभयो । उहाँले ऐतिहासिक धुर्कोट कोत र सङ्ग्रहालय, विचित्र गुफा, बुढीकोट ग्रेटवाल, सहिद पार्क र झल्याकोटको एकीकृत विकासमा आफूहरूको जोड रहेको बताउनुभयो । 


धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र पछाईले तीन करोड १३ लाख ६८ हजार ६२१ रुपियाँको लागतमा ऐतिहासिक धुर्कोट कोट क्षेत्र पूर्वाधार निर्माण तथा धुर्कोट ग्रेटवाल निर्माण गरिएको जानकारी दिनुभयो । बुढीकोट क्षेत्रमा आकर्षक ग्रेटवालसहित विशाल शिवको मूर्ति, सिद्धको मन्दिर र वनभोजका लागि आवश्यक केही संरचना निर्माण गरिएको छ । 


गाउँपालिकाले ग्रेटवालको दायाँबायाँ र बुढीकोट क्षेत्रलाई पर्यावरणीय हिसाबले अझ आकर्षक बनाउन अमला, टिमुर, तेजपत्ता, धुपी, कल्की, कपुर, अम्बा, बेलपत्र, असारे फूल, बर, पिपल, कटहरलगायतका प्रजातिका दुई हजार बिरुवा रोपिएको दावी गरिएको छ ।    

कमेन्ट गर्नुहोस्