
तिलोत्तमा । तिलोत्तमा नगरपालिका,रुपन्देहीले आर्थिक बर्ष ०८१/०८२ को नीति,योजना तथा कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ। नगरले तिलोत्तमाको आफ्नै सभाहलमा आयोजना गरेको समिक्षा कार्यक्रममा नगर कार्यपालिकाका सदस्य, बिषयगत शाखा अन्तर्गतका सम्पुर्ण शाखाहरूबाट प्रमुख तथा प्रतिनिधिहरुबाट गत आर्थिक बर्षको नगरपालिकामा सम्पन्न वार्षिक प्रगति प्रस्तुत गरिएको थियो ।
सो समिक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले नगरपालिकाको समग्र बिकासका लागि कर्मचारी र जनप्रतिनिधी मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो। नगरपालिकाले सारेका आयोजनाहरुको समयमै काम सम्पन्न भएकोमा खुसी ब्यक्त गर्दै उहाँले एक सिक्काका दुईपाटा बनेका कर्मचारी र जनप्रतिनिधिले जनताको सेवकको रुपमा छिटो छरितो, विश्वसनीय तरिकाले समयमै कार्य सम्पादन गरेमा मात्र जनप्रतिनिधीको चाहना र देशको समृद्धिको खुड्किलो पुराहुने कुरा बताउनुभयो।
सोहि कार्यक्रममा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले जनप्रतिनिधिको सोच र कर्मचारीको सोच र गन्तव्य फरक भएपनी नगरपालिकाको बिकास कार्यमा एउटै लक्ष्य भएकाले आम जनताको सेवामा कुनै कसर बाँकी नराखी कर्मचारीले कुनै पनि बिलम्ब नगरी, छिटो छरितो र स्तरिय सेवा दिन र हरेक योजना र बिकास निर्माणका कार्य सम्पादन समयमै गर्नु पर्ने जिकिर गर्नुभयो। उहाँले जनप्रतिनिधी एक्लै र कर्मचारी एक्लैले मात्र चाहेर कुनैपनि काम अगाडी नबढ्ने हुँदा सबैको सल्लाह सुझाव र अग्रसरतामा निश्चित समयमै सेवाग्राहीलाई सन्तुस्ट पार्दै कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो।
सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरको समृद्धिका लागी सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले नगरका हरेक गतिबिधिलाई जनताको नजिक लैजानुपर्ने र बिकाससंग जोड्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारी नङ र मासु भएकाले मिलेर अगाडी बढ्दै सबै नगरबासीको सेवामा अग्रसर हुनुपर्ने बताउनुभयो। हालसम्मको नगरपालिकाको समग्र कार्य निकै उत्कृस्ट रहेको दावी गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले जनतालाई सेवा दिने पक्षमा कुनै कसर बाँकी राख्न नहुने र समग्र तिलोत्तमाको बिकासका लागि सबैको सोच एउटै हुनुपर्ने बताउनुभयो।
जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको बिषयगत शाखा प्रतिनिधिको उपस्थिति रहेको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले कार्यालयको समग्र आय व्यय र योजना तथा बिकाश निर्माण र सेवा प्रबाहको अबस्थाबारे बिश्लेषण गर्दै आगन्तुकलाई स्वागत गर्नुभएको थियो। नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षता तथा उपप्रमुख जगेश्वर देवी चौधरीको उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन बैठक शाखाका शाखा अधिकृत सिता घिमिरेले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्