लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोख्रेलसंग फेरी भेटौंला

IMG

कन्चन। रुपन्देहीको कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद पोख्रेललाई ‘फेरि भेटौँला’ कार्यक्रम आयोजना गरी बिदाइ गरिएको छ।लोक सेवा आयोगको परीक्षाबाट राजपत्रांकित द्वितीय श्रेणीमा उत्तीर्ण भई उपसचिव बन्नु भएका पोख्रेल कञ्चन गाउँपालिकाबाट म्याग्दीको बेनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा हुनु भएको हो। वहाँलाई गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको हो।


बिदाइ कार्यक्रममा बोल्दै पोख्रेलले कञ्चन गाउँपालिकामा कार्यरत रहँदा जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा सरोकारवालाबाट प्राप्त सहयोग, समन्वय, सहकार्य र सुझावप्रति आभार व्यक्त गर्नु भएको थियो। वहाँले कञ्चनमा आउँदा कुनै व्यक्तिगत अपेक्षाभन्दा पनि पालिकाका योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रशासकका रूपमा स्थापित हुने लक्ष्य लिएर कञ्चनमा प्रवेश गरेको स्मरण गर्नु भएको थियो।समुन्नत कञ्चन र सुखी कञ्चनवासी बनाउने उद्देश्य पूरा गर्न आफ्नो क्षमता, दक्षता र अनुभवलाई इमानदारीपूर्वक प्रयोग गरेको उल्लेख गर्दै , आगामी दिनमा पनि कञ्चनसँगको सम्बन्ध निरन्तर रहने भन्दै फेरि भेट्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।


कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले पोख्रेलले प्रमुख प्रशासकीय अधिकृतका रूपमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउदै जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय तथा सहकार्यलाई संस्थागत बनाउन पोख्रेलले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नु भएको थियो।कञ्चन गाउँपालिकाले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशुसेवा, लघुउद्यमलगायतका क्षेत्रमा लिएका लक्ष्य हासिल गर्न पोख्रेलले जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा सरोकारवालासँग प्रभावकारी समन्वय र सहकार्य गरेको अध्यक्ष ढकालले बताउनु भयो। पोख्रेलको कार्यक्षमता, जिम्मेवारीप्रतिको प्रतिबद्धता र नीतिगत सुझावलाई पालिकाले उच्च सम्मान गर्ने समेत अध्यक्ष ढकालले बताउनु भएको थियो ।


त्यस्तै, गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी र जनप्रतिनिधिबीच सदैव सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको बताउनु भयो। उपाध्यक्ष थापा मगरले आगामी कार्यस्थलमा पनि पोख्रेलले सक्षम र कुशल कार्यालय प्रमुखका रूपमा जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना समेत दिनु भएको थियो।वडा नं. ४ का वडा अध्यक्ष केशरबहादुर खत्रीले उपसचिव भई बेनी नगरपालिकामा कार्यालय प्रमुखका रूपमा जान लागेका पोख्रेललाई बधाई तथा शुभकामना दिदै कञ्चनमा कार्यरत कर्मचारीले आफ्नो क्षमता र दक्षता प्रदर्शन गर्ने अवसर पाउँदै आएको बताउनु भएको थियो।


कार्यक्रममा लेखा अधिकृत सन्तोष गैरेले पोख्रेलले प्रमुख प्रशासकीय अधिकृतका रूपमा असल कार्यालय प्रमुख तथा अभिभावकको भूमिका निर्वाह गरेको स्मरण गर्नु भएको थियो।कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख गिरीराज अर्यालले गरेका गर्नु भएको थियो। कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो। पोख्रेल कन्चन गाउन्पालिका जानु अघि तिलोत्तमा नगरपालिकामा समेत प्रशासन योजना तथा अनुगमन शाखामा करिव ८ बर्ष कार्यरत रहेका थिए। 

कमेन्ट गर्नुहोस्