लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मणिग्राममा तिलोत्तमा नगरपालिकाको अनुगमनमा तिब्रता,अखाद्य मासु बेच्नेलाई कारबाही

IMG

तिलोत्तमा नगरपालिकाले आज नगरका पाँच वटा मासु पसल अनुगमन गरेको छ । भलबारदेखि मणिग्रामसम्मका पाँच वटा मासु पसलमा नगरपालिकाको टीमले अनुगमन गरेको हो । नगर उपप्रमुख जागेश्वरी चौधरीको नेतृत्वमा रहेको अनुगमन टोलीमा विभिन्न व्यवसायिक संघ संगठनका प्रतिनिधि, कर्मचारी, नगर प्रहरी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।


अनुगमनका क्रममा कतिपय पसलहरुले सरसफाइको न्यूनतम मापदण्ड समेत पालना गरेको भेटिएपछि उनीहरुलाई सचेत गराइएको अनुगमन टोलीले जनाएको छ । सोही क्रममा टोलीले मणिग्रामस्थित कुरैसी मासु पसलबाट २७ किलो अस्वस्थकर मासु जफत गरी तत्काल नष्ट समेत गरेको छ । अनुगमन टोली संयोजक तथा नगर उपप्रमुख चौधरीले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने छुट कसैलाई नभएको बताउँदै नागरिकले मूल्य तिरेपछि स्वस्थकर मासु प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यताको आधारमा बजार अनुगमन गरिएको बताउनुभयो ।


अनुगमनमा सहभागी तिलोत्तमा व्यापार संघका अध्यक्ष प्रेम जिएमले कुरैसी मासु पसलमा खान अयोग्य मासु भेटिएकाले खाल्टोमा पुरेर नष्ट गरिएको स्पष्ट पार्नुभयो । उहाँले मासुको खपत गर्ने ग्राहक र छिमेकीहरुले पनि त्यसबारे चनाखो हुनु पर्ने र खाली अनुगमनकै भर पर्ने प्रबृत्ति त्याग्नुपर्ने बताउनुभयो।  जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको उपभोग्य वस्तुको बिक्री वितरणलाई व्यवस्थित र मापदण्डभित्र राख्न आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ । तिलोत्तमा नगरपालिकाले पछिल्लो समय दैनिक उपभोग्य बस्तुहरुको सन्दर्भमा बजार अनुगमनलाई तीव्र बनाएको छ । यसअघि नगरपालिकाले दुग्ध पसलहरुको अनुमन गरी ८ वटालाई कारवाही गरेको थियो ।

कमेन्ट गर्नुहोस्