
तिलोत्तमा । रसुवामा आएको विनाशकारी बाढीमा परेर रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४, खैरियाका बसन्त थारु बेपत्ता भएको १३ दिन बितिसक्दा पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन। परिवारका सदस्यहरू अहिले पनि उनी सकुशल फर्किने आशामा बाटो हेरिरहेका छन्।
विगत आठ वर्षदेखि रसुवामा रहेको २१६ मेगावाट क्षमताको अपर त्रिशूली जलविद्युत आयोजनामा कार्यरत बसन्त त्यहाँ अपरेटरका रूपमा काम गर्दै आएका थिए। उनी रोलिङ मेसिन सञ्चालन गर्ने जिम्मेवारीमा रहेको परिवारले जनाएको छ।बाढी आएको दिन बिहान बसन्तले आफ्नी पत्नीलाई फोन गरी काममा जान लागेको बताएका थिए। बिहान करिब ८ बजे काममा हिँड्ने जानकारी दिएपछि उनीसँग भएको सम्पर्क नै अन्तिम बन्यो। त्यसपछि उनको मोबाइल फोन बन्द भयो र परिवारले निरन्तर सम्पर्क गर्ने प्रयास गर्दा पनि उनीसँग सम्पर्क हुन सकेन।
बसन्त बेपत्ता भएपछि पत्नी, आमाबाबु, एक वर्षीया छोरी तथा अन्य परिवारजनको पीडा दिनप्रतिदिन बढ्दै गएको छ। सानो छोरीले यतिका दिनदेखि आफ्ना बुबाको अनुहार देख्न पाएकी छैनन् भने पत्नी श्रीमान् फर्किने आशामा बाटो हेरिरहेकी छन्।बसन्तको खोजीका लागि परिवारले जिल्ला प्रशासन कार्यालय रुपन्देही, चितवन प्रशासन, काठमाडौं तथा रसुवासम्म पुगेर सम्बन्धित निकायसँग गुहार मागेको छ। बगर तथा सम्भावित विभिन्न स्थानमा समेत खोजी गरिएको परिवारको भनाइ छ। तर १३ दिन बितिसक्दा पनि बसन्तको कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन।
परिवारका लागि रसुवाको बाढीले केवल एउटा व्यक्ति बेपत्ता बनाएको छैन, परिवारको आर्थिक र सामाजिक सहारासमेत अनिश्चित बनाइदिएको छ। घरको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका बसन्त अचानक सम्पर्कविहीन भएपछि परिवारमाथि पीडाको पहाड खसेको छ।बसन्तका पत्नी, बुवा–आमा, छोरी, परिवारजन र इष्टमित्र अहिले उनको खोजीमा जुटिरहेका छन्। परिवारको एउटै आग्रह छ-“हामीलाई सास भए पनि भेटाइदिनुहोस्, लास भए पनि सत्य थाहा पाउन दिनुहोस्।”जीवित छन् कि छैनन्? कतै सुरक्षित छन् कि बाढीको चपेटामा परे? यी प्रश्नको जवाफ नपाउँदा परिवारको पीडा झन् गहिरिँदै गएको छ।१३ दिनदेखि हराइरहेका बसन्त थारुको खोजीलाई थप प्रभावकारी बनाउन परिवारले सम्बन्धित सरकारी निकाय तथा उद्धार टोलीसँग आग्रह गरेको छ।
एकातिर पत्नीको प्रतीक्षा, अर्कोतिर आमाबाबुको आँसु र एक वर्षीया छोरीको बुबाको बाटो हेर्ने अवस्था-बसन्तको परिवार अहिले एउटै उत्तरको प्रतीक्षामा छ-“बसन्त थारु कहाँ छन्?”परिवारको अन्तिम चाहना पनि एउटै छ—उनी सकुशल भए परिवारसम्म फर्काइयोस्, र यदि कुनै अप्रिय घटना भएको भए पनि कम्तीमा परिवारले सत्य थाहा पाओस्।
कमेन्ट गर्नुहोस्