
कोदो हाम्रो परम्परागत, स्वास्थ्यवर्द्धक र पोषणयुक्त अन्नमध्ये एक हो, जसको उत्पादन पछिल्लो समय क्रमशः घट्दै गएको देखिन्छ। यही तथ्यलाई ध्यानमा राख्दै सरकारले कोदोको संरक्षण, प्रवर्द्धन तथा मूल्यवर्धन गर्नका लागि ‘राष्ट्रिय कोदो दिवस’ को औपचारिक मान्यता दिने निर्णय गरेको हो। अबदेखि हरेक वर्ष साउन १६ गतेलाई 'राष्ट्रिय कोदो दिवस' को रूपमा औपचारिक रूपमा मनाइने भएको छ। यो निर्णय हालै सम्पन्न मन्त्रिपरिषद् बैठकले गरेको हो।नेपाल र भारतका पहाडी भेगहरूमा यो अन्न मुख्य खाद्य बालीको रूपमा उब्जाइन्छ। समुद्र सतहदेखि १८०० मिटर उचाइसम्म सजिलै खेती गर्न सकिने भएकाले यो अन्न पहाडी भेगमा निकै लोकप्रिय छ।
कोदोमा क्याल्सियम, फलाम र फस्फोरसजस्ता शरीरका लागि आवश्यक पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ। यसले पाचन प्रणालीलाई सुधार गर्छ र मधुमेह नियन्त्रणमा सहयोग पुर्याउँछ। कोदो पशुको दाना बनाउन पनि उपयोगी छ। उमारिएको कोदोबाट पौष्टिक पेय तयार पारिन्छ, जुन बच्चादेखि लिएर गर्भवती र वयस्कसम्म सबैका लागि लाभदायक हुन्छ।सिक्किममा पनि ‘कोदो’ र यसको परिकारहरू निकै लोकप्रिय छन्। त्यहाँ यसबाट छ्याङ वा जाँड जस्ता परम्परागत पेय बनाइन्छ भने पीठोले रोटी र ढिंडो पनि तयार पारिन्छ।साउन १६ लाई 'राष्ट्रिय कोदो दिवस' घोषणा गर्नु केवल एक निर्णय होइन, यो हाम्रो परम्परागत कृषि प्रणाली, स्वास्थ्यप्रद जीवनशैली र स्वदेशी उत्पादनप्रतिको सम्मान पनि हो। यस्तो दिवसले कोदो खेतीप्रति जनचासो बढाउने, किसानहरूलाई प्रेरित गर्ने र नेपालको मौलिकता झल्काउने महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गर्न सकिन्छ।
कमेन्ट गर्नुहोस्