लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाल्पामा आकाशे पानी नपर्दा धान रोपाइँमा ढिलाइ

tillotmacitynews - 2024 Jun 30 03:05 PM
IMG

तिलोत्तमा सिटी,२०८१ असार १६ गते । आकाशे पानी कुर्नपर्ने बाध्यताले पाल्पाका किसानले समयमै धान रोप्न पाएका छैनन् । अघिल्लो वर्ष असारको पहिलो सातादेखि नै पर्याप्त पानी परेको थियो । 


गत वर्ष यही समयमा ३० प्रतिशत बढी रोपाइँ भएको थियो । यो वर्ष भने हालसम्म नौँ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र, पाल्पाले जनाएको छ । यो वर्ष मध्ये असारमा पनि पाल्पाका अधिकांश भूभागका पर्याप्त पानी पर्न नसक्दा रोपाइँ गर्न ढिला भएको ज्ञान केन्द्रका प्रमुख सन्तोष चौधरीले बताउनुभयो । 


पाल्पामा जेठको पहिलो साता सामान्य पानी परेपनि त्यसपछि पानी पर्न नसकेको र मूल सुकेकाले रोपाइँमा ढिलाइ भएको चौधरीले बताउनुभयो । यो वर्षको रोपाइँ गर्न किसान तयारी अवस्थामा रहे पनि पानी पर्याप्त नहुँदा कतिपय स्थानमा धानको वीउ छिप्पिएको उहाँले बताउनुभयो । जिल्लाको अधिकांश स्थानमा सिँचाइको पूर्वाधार बन्न नसक्दा रोपाइँका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको किसानले बताएका छन् । आकाशे पानी कुर्दा यो वर्ष रोपाइँ गर्न ढिला भएको पाल्पा माडीका किसानले बताएका छन् । रोपाइँका लागि आवश्वयक पानीको जोहो हुन नसक्दा असारको मध्येसमय बितिसक्दासमेत रोपाइँ गर्न नसकेको माथागढी–१, बाहाखोकका किसान पूर्णबहादुर सारुले बताउनुभयो । 


पाल्पाको माडी, रामपुर, झडेवा, कचल, गेझा, अर्गली फाँटका अधिकांश स्थानमा यस वर्ष रोपाइँ हुन सकेको छैन । सिँचाइ सुविधा पुगेका केही स्थानमा जेठको अन्तिम सातादेखि नै रोपाइँ भएको छ । तर पाल्पाका अधिकांश फाँट तथा टारी खेतमा धान रोप्न सिँचाइ असुबिधा रहेको छ । 


पाल्पामा आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । धान खेती हुने ३५ प्रतिशतमा मात्र सिँचाइ सुबिधा रहेको छ । बाँकी क्षेत्रमा सिँचाइ सुबिधा नहुँदा रोपाइँ गर्न आकाशे पानी कुर्नुपर्ने बाध्यता रहेको किसानले बताएका छन् । 


कमेन्ट गर्नुहोस्