लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीमा निग्रोधाराम उत्सव

IMG

तिलोत्तमा सिटी,२०८० चैत्र १४  गते । ऐतिहासिक तथा पुरातात्त्विक बुद्ध जन्मस्थलमा निग्रोधाराम उत्सव मनाइएको छ । बौद्ध धर्मावलम्बीको आस्था र महत्वपूर्ण स्थल निग्रोधारामको पवित्रता उजागर गरी पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले उत्सव गरिएको हो । सोमबार रेडियो टुरिजमद्वारा आयोजित उत्सवमा नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पथिरानाले यो पवित्रस्थलको धार्मिक र ऐतिहासिक महत्व श्रीलङ्कामा निक्कै मानिने हुँदा यहाँ आएर माटो छुन पाउँदा आफू भाग्यमानी भएको बताउनुभयो । यो ठाउँको विकासमा सबै लागेर बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउनुपर्ने उहाँले बताउनुभयो । यसको विकासका लागि सहयोग गर्न आफू र श्रीलङ्काली सरकार तयार रहेको उहाँले उल्लेख गर्नुभयो । 


कार्यक्रममा भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्यायले सबैलाई दया, माया र आस्था जगाउने ठाउँका रूपमा निग्रोधाराम रहेकाले बौद्ध धर्मावलम्बीका लागि एउटा छुट्टै महत्व बोकेको बताउनुभयो ।  थेरवाद र महायानी परम्परा अनुसार भिक्षु, लामा गुरुले च्यान्टिङ गरी उत्सव सुरु गरिएको थियो । उत्सवमा स्थानीय लोकसंस्कृति र बाजा बजाइएको थियो । राजकुमार सिद्धार्थले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक राजधानी फर्किंदाको अवस्था चित्रण गरी लघु नाटक प्रदर्शन गरिएको थियो । कपिलवस्तु नगरपालिका–२, कुदानस्थित निग्रोधाराममा बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक राजधानी कपिलवस्तु आउँदा फागुन पूर्णिमाका दिन मातापितासँग निग्रोधाराममा भेटघाट गरेका थिए । उक्त ऐतिहासिक क्षणको महिमा फैलाउन निग्रोधाराम उत्सव गरिएको हो । 


उत्सवमा मैत्रीभाव र सद्भाव प्रदान गर्न फूल साटासाट गरिएको थियो । साँझ ७७७ वटा द्वीप प्रज्वलन गरिएको थियो । होलीको शुभकामना साटासाट गर्दै अबिर रङ पनि लगाइएको थियो । श्रीलङ्काली राजदूत दम्पतीले पनि रङ अबिर लगाएर खुसियाली साटासाट गर्नुभएको थियो । साँझ शान्तिका लागि तीन वटा ‘फ्लाइङ लालटेन’ उडाइएको थियो ।  लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाडेकाजीले कपिलवस्तुमा नया“ पर्यटकीय आकर्षणका धेरै सम्भावना भएकाले त्यसलाई उजागर गर्न निग्रोधाराम उत्सव मनाइएको बताउनुभयो । बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक राजधानी कपिलवस्तु आउँदा फागुन पूर्णिमाका दिन निग्रोधाराममा मातापितासँग भेटघाट गरेका थिए । 


उहाँले भन्नुभयो, “बुद्धले बुद्धत्व प्राप्त गरेपछिको यो क्षण विश्वकै लागि महत्वपूर्ण हो । त्यही खुसियालीको क्षण अनुभूति गर्न उत्सव आयोजना गरिएको हो ।” कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डे, लुम्बिनी विकास कोषका बोर्ड सदस्य रामनरेशप्रसाद कोहार, कोष परिषद् सदस्य गोपीकृष्ण शर्मा, कोषका प्रमुख सूचना अधिकृत डा. हरिध्वज राई, सूचना राजन बस्नेत, गच्छामी मिडिया ग्रुप अध्यक्ष मनोज श्रीवास्तव र ग्रुपका निर्देशक खगप्रसाद चापागाईंले पनि बोल्नुभएको थियो ।  


उत्सवकै अवसरमा सम्पदामा धनी कपिलवस्तु विषयक तस्बिर पनि प्रदर्शन गरिएको थियो । बुद्धस्थल तिलौराकोट, गोटिहवा, कन्थक स्तूपा, जगदीशपुर र निग्रोधारामका मनमोहक र रोमाञ्चक तस्बिर प्रदर्शन गरिएको थियो । प्रदर्शनीमा तराईको मानवीय जनजीवन, पुरातात्त्विक  स्थलको पृष्ठभूमि र खुला आकाशसँगै देखिएका अन्नपूर्ण प्रथम, धौलागिरि दोस्रो, तेस्रो र चौथो तथा गुर्जा हिमालका चित्ताकर्षक तस्बिर प्रदर्शनी बुद्धस्थल निग्रोधाराममा गरिएको थियो ।   

कमेन्ट गर्नुहोस्