लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विदेशबाट फर्केर कृषिमै व्यस्त इश्वरी,गँड्यौला बेच्न भ्याइनभ्याइ

IMG
तिलोत्तमा,साउन १ गते २०८०।  हरेक पसिनाको मूल्य हुन्छ , चाहे त्यो बिदेशमा बगाएको होस् या आफ्नै देशमा। आफ्नै देशको आटो ढिडो खाएर परिवारसंगै बसेर पसिना पुछ्दै सुन फ़लाउनुको खुसी त्यहा मात्रै हुदो रैछ जहाँ त्यही पेशाबाट आफु र आफ्नो परिवारको उन्नति हुन्छ। दैनिक २ हजार युवा बिदेशिदा पनि देशमै केहि गर्छु भन्ने आँट र सहस भए के ले पो छेक्दो रैछ र ? यस्तै भएको छ तिलोत्तमा-२ तपाहामा बसेर कृषि कर्म मै रमाएका इश्वरी भण्डारीलाई। कृषि  खाडी मुलुक र भारतसमेत गरी सात वर्ष वैदेशिक रोजगारी गरेपछि गाउँ फर्किएका उनलाई स्वदेशमै केही गर्ने सोच आयो अनि २०७० सालमा घर फर्केका भण्डारीले सुरुमा मार्केटिङ व्यवसाय थाले । इन्टरनेटको सदुपयोग गर्दै एक वर्षसम्म व्यवसायको नयाँ विषय अध्ययन गरे । विषय रोजे– गँड्यौला मल । सीप सिकेर नर्सरी तथा गँड्यौला उत्पादनमा लागेका उनलाई अहिले भ्याइनभ्याइ छ । 


बैदेशिक रोजगार बाट नेपालमै केहि गर्नुपर्छ भन्ने सोचका धनी उनी ग्रिनजोन एग्रो फार्मका सञ्चालक हुन् । अचेल सबेरै उनको फोनको घन्टी बज्न थाल्छ । फोनैपिच्छे ग्राहकले सोध्छन्– गँड्यौला छ ? मल तयार छ ? ‘विदेश बसेर सात वर्षमा सोचेजस्तो उपलब्धि भएन । त्यसपछि कृषि कर्म गर्ने सोच बनाएँ,’ उनी भन्छन्, ‘२० लाख लगानी गरेर साढे दुई बिघामा फार्म सुरु गरेको हुँ ।’उनलाई बजारमा गँड्यौला र मल पुर्‍याउन भ्याइनभ्याइ छ । यहाँ अभाव हुँदा चितवन र काठमाडौंबाट मगाएर पनि ग्राहकलाई पुर्‍याइरहेका छन् । एक वर्षसम्म अध्ययन गरेर मात्रै एग्रो फार्म सञ्चालन गरेको उनले बताए । ‘अहिले इन्टरनेटको सदुपयोग गरेर नर्सरी तथा गँड्यौला उत्पादन गरिरहेको छु,’ उनले भने, ‘नर्सरीमा हरेक उन्नत जातका तरकारीका बीउबिजनका साथै सयपत्री फूलको पनि खेती गरिरहेको छु ।’ १५ ब्याड (मल बनाउनका लागि गँड्यौला राखिने टनेल) गँड्यौला उत्पादन गरिरहेका उनले सुरुमा नर्सरीमात्रै चलाउने सोचेका थिए ।


अमेरिकन हाइब्रिड आइसोनिया फेटिका नामको गँड्यौलाले राम्रो मल बनाउने बुझेपछि उत्पादन सुरु गरेको उनले बताए । ‘इन्टरनेटमा हेरेपछि चितवन पुगेर त्यहाँको गँड्यौला खेती हेरेर बीउ लिएर आएँ,’ उनले भने, ‘अहिले आफैं मल र गँड्यौला बेचिरहेको छु ।’ उनका अनुसार कात्तिकदेखि फागुनसम्म गँड्यौलाले अन्डा पार्छन् । १५ ब्याडमा एक पटकमा १ देखि ५ किलो बच्चा निस्किने उनले बताए । ‘एक किलोको एक हजार रुपैयाँ पर्छ,’ उनले भने, ‘गँड्यौलाको मल प्रतिकिलो ३५ रुपैयाँ थोकमा बिक्री हुन्छ ।’ उनका अनुसार एउटा ब्याडमा सवा लाख लगानी हुन्छ । ‘अहिलेसम्म ३० लाख रुपैयाँ लगानी गरिसकेको छु, आर्थिक अभावले थप लगानी गर्न रोकिएको छ,’ उनले भने, ‘होइन भने बजार त जति पनि छ ।’


एक ब्याड तयार गर्दा घामपानीले हानि नगर्ने गरी ३ फिट चौडा र १२ फिट लामो प्लास्टिक टनेल बनाइन्छ । त्यसमा गाई–भैंसीको गोबर र झारपात राखिन्छ । त्यति गरेपछि एक ब्याडमा १२ किलो गँड्यौला छाड्ने गरेको उनले बताए । ‘गँड्यौलाले घामको प्रकाश र उज्यालो नरुचाउने भएकाले माथिबाट जुटको बोरा वा परालले ढाक्नुपर्छ,’ उनले भने, ‘गर्मी सिजनमा दिनमा तीन पटक पानी छर्केर चिस्यान बनाइन्छ । जाडोमा तीन दिनमा एक पटक पानी राख्दा फरक पर्दैन ।’चिसो नभएसम्म गँड्यौला भित्र पस्दैन । गोबर नखाएसम्म मल बनाउन नसक्ने उनले बताए । मात्रा मिलाएर पानी छर्किन र गँड्यौला भित्र पसे/नपसेको हेर्नुपर्ने उनले बताए । १५ ब्याडका लागि २० ट्र्याक्टर ट्रली गोबर सञ्चित गरेको उनले बताए । ‘सुरुमा नर्सरीमा मल चाहिने भएकाले सिकें,’ उनले भने, ‘पछि माग हुन थालेपछि उत्पादन गरेर बिक्री सुरु गरें । अहिले त कौसी खेती गर्नेको पहिलो रोजाइमा यो मल परेको छ ।’ भण्डारीले वर्षको २५ ट्रली बराबर गँड्यौलाको मल प्याकेजिङ गरी बिक्री गर्ने र गँड्यौला २ सय केजीसम्म बिक्री हुने गरेको बताए । ‘यसबाट वार्षिक ८ लाख रुपैयाँ कमाइ भइरहेको छ,’ उनले भने ।


हात नगनाउने, फोहोर नहुने, यसमा नाइट्रोजन, फोस्फरस, सल्फर साथै हरेक माइक्रो न्युट्रियन्ट उपलब्ध हुने भएकाले बिरुवा हुर्कन र फल्न यो मल राम्रो मानिएको उनको भनाइ छ । ७५ दिनमा तयार हुने मललाई प्याकेजिङ गरेर बिक्री गर्ने गरेका छन् । ‘बिरुवा लिन आउने हरेक ग्राहकले मल किन्छन्,’ उनले भने, ‘गँड्यौला र त्यसबाट बन्ने मलबारे अध्ययन र अवलोकनका लागि पनि उत्तिकै आइरहन्छन् ।’बिहान साढे ६ देखि साढे १० र दिउँसो ३ देखि साँझ ७ बजेसम्म आफ्नो फार्ममा मानिसको भीडभाड हुने उनले बताए । कृषिका कर्मचारी, विद्यार्थी र किसान गँड्यौला खेती हेर्न र बुझ्न आउने गरेको उनले सुनाए । स्थानीय बजारमा मल पुर्‍याउन नसकेको उनले बताए । ‘रोल्पाबाट समेत अर्डर आउँछ,’ उनले भने, ‘ट्रकका ट्रक मल माग हुन्छ, थोरथोरै पठाइरहेको हुन्छु ।’ उनको कामलाई सघाउन दुई जना कर्मचारी छन् । परिवारका सदस्यले पनि उत्तिकै सघाउँछन् । तिलोत्तमा नगरपालिकाले उनलाई २० हजार रुपैयाँ सहयोग गरेको नगरपालिकाको कृषि शाखा प्रमुख दोमलाल भुसालले बताए ।


भण्डारीले पहिलो पटक खेतीबारे बताउँदा त्यति ख्याल नगरे पनि नर्सरीमै गएर खेती हेरेपछि आफूहरू दंग परेको भुसालले बताए । अर्गानिक खेती गर्ने किसानलाई पालिकाले प्राथमिकतामा राखेर सहयोग गरिरहेको उनले बताए । कृषि विज्ञ तेजनारायण गैरे यस प्रकारको मल कृषिका लागि अति नै प्रभावकारी हुने बताउँछन् । ‘माटोको जैविक क्रियाकलापका साथै माटोभित्र हावाको मात्रा पनि बढाउने भएकाले गँड्यौला पालेर मल बनाउनु उत्कृष्ट मानिन्छ,’ उनले भने, ‘यसमा हुने सबै खालका माइक्रो न्युट्रियन्ट नै बोटबिरुवाका लागि लाभदायक छन् ।’ भण्डारी गड्यौला मल मात्रै होइन दशैँ तिहार र बेमौसमी फूलमाला, विभिन्न किसिमका तरकारी, फलफुलका बिउ बिजनको लागि पनि तिलोत्तमालाई आत्मनिर्भर बनाउने अभियानमा छन्। उनका बारीमा कृषि फर्ममा पाइने सबै खेतीयोग्य बिरुवा समेत पाइन्छ।  



कमेन्ट गर्नुहोस्