लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीका ईट्टा उद्योग किन बन्द हुने अवस्थामा पुगे ?

IMG

तिलोत्तमा सिटी न्युज, असार २१  गते २०७९। ईट्टामा रुपन्देही जिल्ला आत्मनिर्भर मानिन्छ । यहाँ उत्पादित ईट्टा पाल्पा, स्याङ्जा, कास्की, काठमाडौं, पर्वत, रोल्पा लगायत जिल्लामा समेत जाने गर्छ । ईट्टा उत्पादनका हिसाबले रुपन्देहीका उद्योग अब्बल मानिन्छन् । तर समय बदलिएको छ । यतिबेला जिल्लामा सञ्चालित ईट्टा उद्योगी चिन्तित भएका छन् । कारण उद्योगहरु बन्द हुने अवस्थामा छन् । विभिन्न कठिनाइका बाबजुद सञ्चालन गरिरहेका ईट्टा उद्योगी उद्योग बन्द गर्न अवस्थामा पुगेका छन् । प्रत्येक वर्ष बेमौसमी वर्षाका कारण करौडौंको ईट्टा नष्ट भइ नोक्सान व्यहोर्न बाध्य उद्योगीहरुले कांचो ईट्टाको बीमा हुनुपर्ने माग गर्दै आएका छन् । तर उक्त माग अझै सम्बोधन हुन सकेको छैन । दुई वर्ष कोरोना महामारीका कारण थला परेको उद्योग व्यवसाय अझै अपेक्षित रुपमा अगाडि बढ्न सकेको छैन । यस्तो अवस्थामा उद्योग नै बन्द गर्नुपर्ने अवस्था किन आयो त?


लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका महासचिव अजय कुमार गुप्ताले कोइलाको मूल्य बढेको र नेपालमा आयात हुने कोइला गुणस्तरहीन भएका कारण समस्या थपिएको बताए । उनले गत वर्ष प्रतिमेट्रिकटन रु. २४ हजार खरिद गरिदै आएको कोइला अहिले रु. २९ देखि ४० हजार र त्यो भन्दा माथि मूल्यमा खरिद गर्नुपरेको बताए । नेपालमा आयात हुने कोइला भारतको बिहार, रानीगंज, बंगाल, लगायतका स्थानबाट आउने गरेको उनले बताए । महासचिव गुप्ताका अनुुसार अमेरिका, इण्डोनेसिया, भारतको आसामबाट आउने कोइला राम्रो मानिन्छ, तर नेपालमा आयात हुने कोइला गुणस्तरहीन भएका कारण ईट्टा उत्पादनमा समेत थपिएको छ ।


ईट्टा उत्पादन गर्दा कुल लागतको ६० प्रतिशत कोइलामा लाग्ने गरेको उनको भनाइ छ । भारत र पाकिस्तानमा कोइलाको अभाव भएका कारण त्यसको प्रभाव नेपालमा समेत भएको उनले बताए । अर्को समस्या भनेको विकास निर्माण कार्यहरु अपेक्षित रुपमा सञ्चालन हुन नसकेकाले ईट्टाको माग नहुँदा उत्पादन गर्नुको खासै औचित्य नहुने उनले बताए । उनले भने, ‘तरलताको अभाव, मजदूर नपाउने समस्या, गुणस्तरहीन कोइला र मल्यवृद्धि, डिजेलको मूल्यमा भएको वृद्धिका कारण ढुवानी खर्चमा वृद्धि लगायतका समस्याले उद्योग बन्द गर्न बाध्य भएका छौं । ’ डिजेलको मूल्य निकै महंगो अर्थात १७२ रुपैयाँ पुगेको उनले बताए । सञ्चालन गर्न नसके केही उद्योगीले आफ्ना उद्योग विक्री गर्ने अवस्थामा समेत पुगेको उनले बताए । अहिले प्रतिगोटा १६ रुपैयाँमा ईट्टा विक्री भइरहेको उनको भनाइ छ । उद्योग बन्द हुन नदिनका लागि सरकार गम्भिर हुनुपर्ने उनले बताए। महासचिव गुप्ताले सरकारले कोइला आयातमा भन्सार छुट दिनुपर्ने बताए ।


लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका कार्यसमिति सदस्य दीपक पौडेलले कोइलाको मूल्य बढ्नु, मजदूर लागत बढ्नु, मूल्यवृद्धि हुनु तर ईट्टाको मूल्य नबढ्नुले पनि उद्योगी मारमा परेकाले उद्योग बन्द गर्नुको विकल्प नरहेको बताए ।नेपाल ईट्टा उद्योग महासंघ लुम्बिनी प्रदेशका सदस्य धनपति पौडेलले कोइलाको मूल्य आकाशिनु, इन्धनको मूल्यमा निरन्तर मूल्यवृद्धि हुन, ग्राहकको क्रयशक्ति घट्नु जस्ता कारण ईट्टा उद्योग बन्द गर्ने अवस्थामा पुग्नुपरेको बताए । उनले सधै घाटा सहेर उद्योग चलाउन नसकिने बताए ।लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका अनुुसार रुपन्देहीमा हाल ४८ वटा ईट्टा उद्योग सञ्चालनमा छन् । त्यस्तै लुम्बिनी प्रदेशमा २ सय सय बढी ईट्टा उद्योग सञ्चालनमा छन् । भारतीय सञ्चार माध्यमका अनुुसार अखिल भारतीय ईट्टा एवं टायल निर्माता महासंघले भारतमा सञ्चालनमा रहेका १ लाख ईट्टा उद्योग बन्द गर्ने घोषणा गरेको छ । त्यस्तै पाकिस्तानमा पनि ईट्टा उद्योग बन्द गर्ने घोषणा गरिएको छ ।

कमेन्ट गर्नुहोस्