लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

७९ औं श्रृंखलामा तिलोत्तमा नगरपालिकाको सरसफाई अभियान

IMG

२०७८ मङ्सिर १५,तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित सरसफाई अभियान ७९ औं श्रृंखलामा पुगेको छ । कोभिड १९ को कारण प्रभावित सरसफाई अभियानले केही समययता निरन्तरता पाएसँगै समुदाय स्तरमा हुने सरसफाईमा नगरबासीहरु पुनः सक्रिय हुन थालेका छन् । ७९ औं श्रृंखला अन्तर्गत् बुधबार वडा नं २ को तपाहालाइनमा नगरस्तरीय सरसफाई गरिएको छ ।


नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य लगायतका जनप्रतिनिधि, कर्मचारी, विभिन्न टोल विकास संस्था, क्लव, आमा समूह लगायतको सहभागितामा सरसफाई गरिएको हो । यस्तै नगरमा रहेका विभिन्न टोल विकास संस्थाहरुले समेत बुधबार आ–आफ्नो क्षेत्रमा सरसफाई गरेका छन् । तिलोत्तमाले पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणालाई प्रभावकारी बनाउन सरसफाई अभियानलाई प्राथमिकतामा राख्दै आएको छ । नगरपालिकाले हरेक महिनाको १ र १५ गते नगर स्तरीय सरसफाई अभियान सञ्चालन गर्दै आएको छ भने टोल विकास संस्थाहरुले तोकिएका दिनका अतिरिक्त शनिबार वा सार्वजनिक बिदाको दिनमा समेत सरसफाई कार्यक्रम गर्दै आएका छन् ।


कोभिड १९ को प्रभाव कम भएर जनजीवन सामान्य हुँदै जाँदा टोल विकास संस्थाहरु सरसफाईमा सक्रिय रुपमा जुट्न थालेको नगरपालिकाको वातावरण शाखाले जनाएको छ । सरसफाई अभियानलाई सम्बोधन गर्दै नगर प्रमुख बासुदेव घिमिरेले नगरलाई सफा, स्वच्छ, हराभरा बनाउने दायित्व सबै नगरबासीको भएको बताउँदै जथाभावी फोहोर गर्नेलाई कारवाही हुने स्पष्ट पारे । सबैको सामूहकि प्रयासले नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन सकिने बताउँदै उनले अभियानमा सहभागी हुने सबैलाई धन्यवाद व्यक्त गरे ।


सो अवसरमा उप–प्रमुख जागेश्वरी चौधरी, वडा नं। २ का वडाध्यक्ष दधिराम गौतम लगायतले सरसफाईमा स्थानीय समुदायको भूमिकाका बारेमा प्रकाश पारे । सरसफाई अभियन्ताहरुले सुर्ती, गुट्खा लगायत प्लाष्टिकजन्य फोहोरलाई जथाभावी नफाल्न सम्पूर्ण नगरबासीलाई आग्रह गरेका छन् ।



कमेन्ट गर्नुहोस्