
तिलोत्तमा सिटी,१८ असोज २०७८। रुपन्देहीमा चक्कु प्रहारबाट एक जनाको हत्या गरिएको छ ।रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ फर्साटिकरमा रहेको प्लाई उद्योगमा मदिरा सेवन गरी त्यहीँका कामदारबीच झडप हुँदा पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–३ का २२ वर्षीय अवधेश हरिजनको मृत्यु भएको हो ।हरिजनलाई सोही उद्योगमा कार्यरत भारतीय नागरिक रवि सिंहले चक्कु प्रहार गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए ।
‘उनीहरु एउटै फ्याक्ट्रीका कामदारहरु हुन् ।राति मापसे गरी एक आपसमा झडप हुन गई एक जनाको मृत्यु भएको छ । मृतकका बाबु गोपालचन्द हरिजन घाईते छन्,’ उनले भने, ‘हत्यामा संलग्न रवि सिंह पनि घाइते छन् र निजलाई नियन्त्रणमा लिइसकेका छौं ।उनका अनुसार रविले अवधेशलाई चक्कु प्रहार गरेपछि उनका बाबु गोपालचन्द्रलाई पनि चक्कु प्रहार गरेका थिए । अवधेशको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । उनका घाइते बाबु र हत्या आरोपित रवि सिंहको सोही अस्पतालमा प्रहरीको निगरानीमा उपचार भएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्