
तिलोत्तमा सिटी,१७ असोज २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनाधिकृत ढंगले उत्खनन गरेको नदिजन्य पदार्थ जफत गरेर नगरभित्रका सडकहरुमा परेका खाल्डा पुर्न थालेको छ।नगरक्षेत्र भित्र पर्ने तिनाउ नदिमा बन्न लागेको पुल निर्माणका लागि नगरपालिकाले दिएको अनुमती भन्दा बढी उत्खनन गरेपछि निर्माण ब्यवसायीबाट नगरपालिकाले नदिजन्य पदार्थ जफत गरेको थियो।तिलोत्तमाको वडा नं. ६ मा पर्ने पहुनी नाकाबाट तिनाउ खोलामा निर्माणाधिन पक्की पुल निर्माणका लागि ८ लाख घनमिटर उत्खनन गर्न सहमती दिएको भएपनि निर्माण ब्यवसायी हिराचन–कालीगण्डकी–सिद्धार्थ जे.भी. सियारीले अनुमतीभन्दा साढे दोब्बर बढि उत्खनन् गरेको थियो।
उक्त नदिजन्य पदार्थलाई नगरपालिकाले गत असार महिनाको अन्त्यतिर घाटगद्धी गरेकै ठाउमा जफत गरेर राखेको नगरपालिकाले जनाएको छ ।तिलोत्तमा नगरपालिकाले त्यो बाहेक गत आर्थिक वर्षमा नगरक्षेत्र भित्र पर्ने विभिन्न खोलाका चारवटा नाकाबाट नदिजन्य पदार्थको उत्खनन्को लागि अनुमती दिएको थियो।नगरपालिकाले अनुमती दिएका वडा नं. १३ को सेमरी, वडा नं. १४ को बाग्धुरा र वडा नं. १ र ८ मा पर्ने सुखौरा खोलाबाट जिल्लामा निर्माणाधिन विभिन्न आयोजनालाई उत्खनन्को लागि अनुमती दिएकोमा ति नाकाहरुबाट पनि अनुमती भन्दा बढि उत्खनन् गरेपछि सबै नाकाहरुमा अनुमती भन्दा बढी भेटीएको नदिजन्य पदार्थ जफत गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए।
नगरपालिकाका अनुसार नगरका महत्वपुर्ण यि ४ वटा नाकाहरु बाट आठ करोड रुपैयामा नदिजन्य पदार्थ उत्खननको लागि ठेक्का दिएको भएपनि अनुगमनको क्रममा अनुमतीभन्दा बढि परिमाणको नदिजन्य वस्तु उत्खनन् गरेको पाएपछि जफत गरेको थियो। ति मध्ये जफत गरिएका ३ वटा नाकाको नदिजन्य पदार्थ नगरपालिकाले लिलाम विक्रि गरिसकेको छ।तर नगरपालिकाले पटक पटक लिलामीका लागि सूचना जारी गरेपनि वडा नं. ६ को पहुनी नाकाबाट जफत गरिएको करीव १२ लाख घनफिट नदिजन्य पदार्थ बिक्रि हुन सकेको थिएन्।
बिक्रिको प्रक्रिया अगाडी बढाउदा पनि पहुनी नाकाको नदिजन्य पदार्थ बिक्रि नभएपछि नगरपालिकाको कार्यपालिका बैठकले नगरभित्रका सडकमा बर्षायाममा पारेका खाल्डा खुल्डी पुर्नका लागि प्रत्येक वडामा बितरण गर्ने निर्णय गरेको थियो।नगरपालिकाको गत साउन ७ गतेको बोर्ड बैठकले वडा नं १ वडा नं ७ वडा नं ८ वडा नं १२, वडा नं १३ र वडा नं १७ मा प्रति वडा २५० टिप्परका दरले, वडा नं ३ वडा नं ४ र वडा नं १० मा २२५ टिप्पर, वडा नं २, वडा नं ५ वडा नं ९, वडा नं न१५ र १६ मा प्रतिवडा २ सय टिप्परका दरले र वडा नं ६ वडा नं ११ र वडा नं १४ मा प्रति वडा ३ सय टिप्परका दरले नदिजन्य पदार्थ दिने निर्णय गरेको थियो।नगरपालिकाले वडा नं १३ का अध्यक्ष गणेश न्यौपानेको संयोजकत्वमा नदिजन्य पदार्थ उत्खनन तथा अनुगमन समिती गठन गरेर असोज १२ बाट वडावडामा बितरण गर्न सूरु गरेको थियो।
वडामा बितरण गर्न लागेको पहिलो दिनमै हिराचन–कालीगण्डकी–सिद्धार्थ जे.भी.का ठेकेदारहरुले अवरोध गरेपछि बितरण रोकेको नगरपालिकाले तेश्रो दिनबाट बितरण सूरु गरेको छ।
यस्तो छ उत्खनन र बितरण अवरोधको कथा
तिलोत्तमा नगरपालिका र सियारी गाउपालिकाको सिमा बनेर बग्ने तिनाउ नदिमा पक्की पुल निर्माणका लागि गत बर्ष ठेक्का भएको थियो।निर्माणको जिम्मा पाएको हिराचन–कालीगण्डकी–सिद्धार्थ जे.भी. सियारीका सन्चालक हिरा खत्रीले नदिजन्य पदार्थको अभाव देखाउदै काममा आलटाल गर्न थालेपछि सरकारले पुल निर्माणका लागि ८ लाख ४७ हजार २ सय घनफिट नदिजन्य पदार्थ उत्खनन् गर्ने अनुमती दिएको थियो।न्युन मुल्यमा उत्खनन गर्ने अनुमती पाएको हिराचन–कालीगण्डकी–सिद्धार्थ जे.भी. सियारीले भने अनुमती पाएभन्दा दोब्बर बढी उत्खनन् गरेको भेटीएपछि नगरपालिकाले जफत गरेको थियो।उक्त कम्पनीले ८ लाख ४७ हजार २ सय घनफिट मात्रै उत्खनन् गर्ने अनुमती पाएपनि साढे दुई गुणा भन्दाबढी २० लाख ४६ हजार पांचसय ३८ घनफिट नदिजन्य वस्तु उत्खनन् गरेको भेटिएको थियो।
जफत गर्ने समयमा तिलोत्तमा नगरपालिकाले अनुमती दिईएको बाहेक ३ लाख २५ हजार घनफिट नदिजन्य पदार्थ शुद्धोधन गाउपालिकाबाट खरिद गरेर ल्याएको प्रमाण देखाएपछि नगरपालिकाले अनुमती दिएको भन्दाबढी १२ लाख ६ हजार ८ सय ३८ घनफिट नदिजन्य पदार्थ जफत गरेको थियो।
त्यसैगरी अन्य नाकाहरु सेमरीबाट ९ लाख ९७ हजार ५ सय घनफिट उत्खनन् गर्ने अनुमती पाएकोमा झण्डै दोब्बर बढि १७ लाख ७ हजार १ सय ३४, बाग्धुराबाट ५ लाख २९ हजार ५ सय अनुमती पाएकोमा ७ लाख १७ हजार ६ सय ७२ र सुखौरा नाकाबाट ३ लाख २९ हजार घनफिट अनुमती पाएकोमा ३ लाख ७० हजार १ सय ४५ घनफिट उत्खनन् गरेको पाईएपछि नगरपालिकाले जफत गरेको थियो।ति नाकाहरुबाट अवैध रुपमा अनुमती पाएभन्दा बढि उत्खनन् गरिएको नदिजन्य वस्तु गौतमबुद्ध विमानस्थल र अन्य आयोजनालाई लिलाम विक्री गरिएको नगरपालिकाले जनाएको छ।नगरपालिकाले बढि निकालिएको गिट्टीबालुवा लिलाम विक्री गरि बाग्धुराबाट ३८ लाख ९९ हजार १ सय ५४ र सेमरीबाट १ करोड २७ लाख ७३ लाख ४ सय १२ रुपैया थप राजश्व संकलन गरेको छ।
तर पहुनी नाकाको वस्तुको लागि २ करोड ७५ लाख ७३ हजार ८४ रुपैयामा लिलाम विक्रीको सूचना प्रकाशित गरिएकोमा कसैको निवेदन नआएपछि नगरपरिषद्को साउन ७ गतेको बैठकमा भत्किएका सडक मर्मतका लागि १७ वटै वडामा उपलब्ध गराउने निर्णय गरेको थियो।नगरपालिकाले गत असार १० गतेको नगरपरिषद् बैठकबाट अनुमती भन्दा बढी उत्खनन् गरेको भेटिएको गिट्टी बालुवा लिलाम बिक्रीका लागि निर्णय गरेपनि पहुनीको वडामा बितरण गर्नै लाग्दा असोज दोश्रो साता आएर निर्माण ब्यवसायीको नाममा केही युवाहरुले अवरोध गरेको अनुगमन समितीका संयोजक न्यौपानेले बताए ।
नगरपालिकाले २०७८ ठेक्का लगाएका नाकाबाट जेठ १४ गतेदेखि असार २५ गतेसम्मको लागि उत्खनन् गर्ने अनुमती दिएको थियो। नगरपालिकाले उत्खनन्को लागि दिईएको अनुमती अनुसार उत्खनन् भएन भएको नांपजांच गर्ने जिम्मेवारी पाएका नगरपालिकाका प्राविधीक समेत निर्माण ब्यवसायी संग मिलेको पुष्टि भएपछि उनलाई निस्कासन गरिएको न्यौपानेले बताए।अनुगमन समितीले अनुगमनको क्रममा अनुमती भन्दा बढि उत्खनन् गरेको शंका मानेपछि नगरपालिकामै कार्यरत प्राविधीकलाई दुईदुई पटक पठाएको थियो तर उनले समेत निर्माण ब्यवसायी संग मिलोमतो गरेर १५ हजार घनमिटर मात्रै बढि नदिजन्य पदार्थ उत्खनन् भएको नगरपालिकालाई प्रतिवेदन दिएपछि पुनः नांपजांच गर्दा एउटै ठेक्काबाट १२ लाख ६ हजार ८ सय ३८ घनफिट गिट्टीबालुवा बढि भेटिएको उनले बताए।
यता हिराचन–कालीगण्डकी–सिद्धार्थ जे.भी. कम्पनीसंग संयुक्त लगानी गरेको र उत्खनन् गर्दा लागेको रकम भन्दै स्थानीय सुमन बस्याल, बासु बस्याल, शिव कुँवर लगायतका युवाहरुले नगरपालिकासँग अवैध रुपमा उत्खनन् गरेको नदिजन्य वस्तुको समेत उत्खनन् र ढुवानी खर्च माग गर्दै नगरपालिकामा निवेदन पेश गरेका छन्।तरुण दल रुपन्देहीका नेता समेत रहेका बासु बस्यालले अनुमती भन्दा बढी उत्खनन् गरिएको स्वीकार गर्दै उत्खनन् तथा ढुवानी गर्दा लागेको खर्च नगरपालिकाले दिनुपर्ने बताए। ‘नांपजांच गर्दा बढि भेटिएपनि उत्खनन् र ढुवानी गर्दा हामीले लगानी गरेका छौं। उत्खनन् र ढुवानीमा लागेको खर्च नगरपालिकाले दिनुपर्छ।’ उनले भने। उनले नगरपालिकाले नांपजांच गर्दा उत्खनन् गरिएकोभन्दा धेरै परिमाण देखाएको समेत आरोप लगाए ।
तर अनुगमन समितिका संयोजक तथा वडा अध्यक्ष न्यौपाने भने नांपजांचमा कुनै तलमाथी नगरिएको बरु ठेकेदार कम्पनीले अन्यत्रै बाट ल्याएको भन्दै माग दावि गरेको नदिजन्य पदार्थ समेत उनीहरुलाई नै दिईएको बताए। ‘नांपजांचमा कुनै कमजोरी नहोस् भनी दुईतिन पटक नांपाजांच गरिएको छ, कुनै तलमाथी गरिएको छैन उनले भने। साभार समयचक्र बाट
कमेन्ट गर्नुहोस्