
तिलोत्तमा सिटी,१० असोज २०७८। उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार टोपराज शर्मा सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले वरिष्ठ पत्रकार नारायण सापकोटाद्वारा स्थापित उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार-२०७७ पत्रकार टोपराज शर्मालाई प्रदान गरेको हो । पुरस्कारको राशी नगद २५ हजार र प्रमाणपत्र रहेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पत्रकार शर्मालाई एक कार्यक्रमका बीच पुस्कार वितरण गरेका हुन् । प्रत्येक वर्ष जुन ५ तारिखका दिन विश्व वातावरण दिवसका दिन प्रदान गर्ने पुस्कार कोरोनाका कारण प्रदानमा केही ढिलाई भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए । पत्रकार महासंघले पुस्कार पदान गर्नका लागि प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको संयोजकत्वमा मूल्यांकन समिति गठन गरेको थियो । समितीको सदस्यमा लेखक तथा वातावरणका जानकार युवराज कंडेल र डिभिजन वन कार्यालयका प्रतिनिधि राजन खड्का सदस्य रहेका थिए । सो समितीले पुरस्कारका लागि पत्रकार शर्मालाई गरेको सिफारिस गरेको थियो ।
सञ्चार सम्बन्धी विधेयक संशोधन गर्न सरकार तयार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले सञ्चार सम्बन्धी विधेयक संशोधन गर्न सरकार तयार रहेको बताएका छन् । पत्रकारहरुका लागि ल्याएको कानुन पत्रकारले नै विरोध गर्ने भएपछि सरकार जबरजस्ती कानुन ल्याउने पक्षमा नभएको बताउँदै फिर्ता गर्दा कानुन निर्माण पछाडि धकेलिने भएकोले संशोधनको बाटो सहज हुने बताए ।नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले आईतबार आयोजना गरेको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार वितरण तथा एक हप्ते पत्रकारिता तालिम समापनलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले यस्तो कुरा बताएका हुन ।
‘तत्तकाल कानुन निर्माण गर्ने हो भने संसोधनबाट अघि बढ्न सकिन्छ’ उनले भने –‘फिर्ता नै गर्नुपर्छ भन्नुहुन्छ भने सरकार फिर्ता गर्न तयार छ, तर फिर्ता भएपछि कानुन बन्न ३÷४ बर्ष पनि लाग्न सक्छ ।’ उनले विधेयक फिर्ता भएपछि अधिकृत तहको कर्मचारीबाट पुन प्रक्रिया शुरु हुने बताए । उनले पटक पटक पत्रकार महासंघलाई संसोधन गर्नतर्फ जोड दिदै भने ‘काँडाहरु पन्छाउँदै अघि बढ्ने की राजमार्ग बनाउने, महासंघले के गर्ने भन्नुहोस् ।’ मुख्यमन्त्री केसीले पुर्नलेखन गर्ने प्रक्रियामा बर्तमान राजनीतिक अवस्थाले संसदसम्म लैजान निकै जटिल हुने बताए । उनले लुम्बिनीमा विधेयकहरुको चाङ लागेको भएपनि संसद नियमित गर्न अवरोध सृजना भइरहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोख्रलले लुम्बिनी प्रदेश सरकार प्रेसमैत्री भएको संसारभर प्रचार गर्न चाहेको बताए । उनले लुम्बिनी सरकारले ल्याएको सञ्चार विधेयकलाई प्रेसमैत्री बनाउने सवालमा महासंघले प्राविधिक रुपमा भरपुर सहयोग गर्न तयार रहेको बताउँदै प्रेस स्वतन्त्रतालाई हनन गर्ने कानुन स्विकार नसक्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाई, पूर्व अध्यक्ष विनोद पहाडी, नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का, उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारका संस्थापक अग्रज पत्रकार नारायण सापकोटा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, नेपाल प्रेस यूनियन रुपन्देहीका सभापती रेखा भुसाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरी, प्रेस संगठन नेपाल रुपन्देहीका संयोजक कमल रायमाझी, मूल्यांकन समितिका सदस्य युवराज कंडेल लगायतले बोल्दै अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कायम राख्ने गरि कानुन निर्माणमा जोड दिएका थिए ।
पूर्व अध्यक्ष चापागाईलाई सम्मान
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईलाई महासंघले सम्मान गरेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट हालै ‘बुद्ध दर्शन र सञ्चार’ मा विद्यावारिध हासिल गरेकाले महासंघ रुपन्देहीले दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । मुख्यमन्त्री केसी र महासंघका केन्द्रीय अध्यक्ष पोखरेलले सम्मान गरेका हुन । पत्रकारिता र कानुन बिषयमा समेत स्नाकोत्तर गरेकाडा. चापागाईले बुद्धदर्शन र सञ्चार बिषयमा विद्यावरिधी गरेका हुन । उनले महासंघले सम्मान गरेको धन्यवाद दिदै पत्रकारिता क्षेत्रमा अध्ययनशिल पुस्ताहरुको आगमन भइरहेको समेत बताए ।
महासंघ केन्द्रीय समितिको आयोजना र रुपन्देही शाखाको समन्वयमा भएको आधारभूत एक हप्ते पत्रकारिता तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । उक्त अवसरमा इन्टरनेश्नल अलर्टका बरिष्ठ कार्यक्रम अधिकृत विजयी क्षेत्री, सहभागीका तर्फबाट विशाल गिरी, सुजिता श्रेष्ठले बोलेका थिए । कार्र्यक्रम महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता, उपाध्यक्ष विश्वास ढकालको स्वागत तथा सचिव विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।मुख्यमन्त्री केसी, पत्रकार महासंघ नेपालको केन्द्रिय अध्यक्ष विपुल पोखेल, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईँ लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सचिव बिनोद परियारले गरेका थिए ।
कमेन्ट गर्नुहोस्