लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा ट्रेक्टरको जोताईंदर कायम ,प्रतिघण्टा १४४० रुपैंयाँ

IMG

असार ५ गते शनिबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्रेक्टरको जोताईंको नयाँ भाडा दर कायम गरिएको छ ।  नगरपालिकाले ट्रेक्टरधनीका प्रतिनिधि समेतको उपस्थितमा सरोकारवालाहरुसँग छलफल गरेर ट्रेक्टरको नयाँ भाडा दर कायम गरिएको वडा नं. १३ का वडाध्यक्ष समेत रहनुभएका भाडादर निर्धारण समितिका संयोजक गणेश न्यौपानेले जानकारी दिनुभयो ।कृषिमा प्रविधिको प्रयोग बढ्दै गए पनि कृषि उपकरणको भाडादर वैज्ञानिक नहुँदा किसानहरु मर्कामा थिए । तिलोत्तमामा सर्वपक्षीय छलफलबाट ट्रेक्टरको कल्टिभेटर जोताई भाडा प्रतिघण्टा १ हजार ४४० रुपैंयाँ र रोटाभेटर जोताई भाडा प्रतिघण्टा १ हजार ८५० रुपैंयाँ कायम गरिएको हो ।


डिजलको मूल्यवृद्धि, बजारको अवस्था लगायतको आधारमा २०७७ वैशाखमा निर्धारण गरिएको भाडादरलाई  समायोजन गरिएको वडाध्यक्ष न्यौपानेले बताउनुभयो । अब तिलोत्तमा नगरपालिकामा निर्धारण गरिएको भन्दा बढी भाडा लिन पाइनेछैन । तर, ट्रेक्टर व्यवसायीले तोकिएभन्दा कम भाडा लिन सक्नेछन् ।यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यको आधारमा समायोजन गरिएको हो ।तिलोत्तमा नगरपालिकामा ट्रेक्टरको वैज्ञानिक भाडा दर कायम गर्न वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा समिति गठन गरिएको छ । तिलोत्तमा नगरपालिकाको झण्डै ६० प्रतिशत भूभागमा कृषि कार्य हुँदै आएको छ ।प्रमुख खाद्यबाली धान रोपाईं प्रारम्भ हुँदै गर्दा ट्रेक्टरको नयाँ जोताईं भाडादर कायम गरिएको हो ।  तोकिएकोभन्दा बढी भाडा कसैले लिए सम्बन्धित निकायमा जानकारी गराउन समिति संयोजक न्यौपानेले किसानलाई आग्रह गर्नुभयो ।

कमेन्ट गर्नुहोस्