लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोनाले खोसेर लग्यो बिवाह मण्डपबाटै कन्चनको सिन्दुर

IMG

जेष्ठ २ गते आइतबार २०७८ तिलोत्तमा सिटी। बैसाख २९ गते बुधबार लुम्विनी प्रादेशिक अस्पतालले बिहान देखि अक्सिजनको अभावको सन्देश दिई रहेको थियो । सञ्चार माध्यमहरुले अस्पतालमा अक्सिजन अभाव भएको सन्देश प्रवाह गरि रहेका थिए ।अस्पताल ब्यवस्थापन संगै स्थानीय प्रशासन र प्रदेश सरकार अक्सिजनको जाहोमा ब्यस्त थिए । रुपन्देही र यस आसपासमा भएका अक्सिजन उद्योगहरुले उत्पादन गरेको अक्सिजनले थेग्न सकिरहेको थिएन ।अस्पतालमा कार्यरत चिकित्सक र नर्सहरु भएका अक्सिजन सिलिण्डरबाट ओल्टाई पल्टाई अक्सिजन तानेर बिरामीको प्राण थाम्न सकिन्छकी भन्ने अवस्थामा पुगेका थिए ।साँझको सवा ५ बज्दै थियो । प्रमुख जिल्ला अधिकारी सेनालाई हार गुहार गरेर आउन लागेको अक्सिजन लिनका लागि बिमानस्थाल जादै थिए । अचानक लुम्विनी प्रादेशिक अस्पतालको कोरोना बिशेष अस्पतालमा अक्सिजन सकियो ।

आईसियू कक्षका नर्सहरुको चिच्चाहट भयो आधा घण्टा सम्म अक्सिजन आईपुगेन गम्भिर प्रकृतीका बिरामीलाई बचाउने कुनै उपाय लागेन । नर्सको चिच्चाहट हुँदाहुँदै ५ जनाको ज्यान गयो । मृतकका आफन्तको रुवाबासीले झन अस्पताल परिसर रुवाबासी सूरु भयो ।त्यही ५ जनाको सूचीमा थिए बुटवल ११ देवी नगरका दिपक ज्ञवाली । दिपकका दाजु गिरीराज दिनभर अस्पताल बाहिर भाईको स्वास्थ्यलाभको कामना गरे ५ बजे सम्म बसेका थिए । ५ बजेछि उनी घरतर्फ लागे,घर पुग्न साथ अस्पतालबाट दुखद खवर दिन फोन आयो । उनी हत्तार हत्तार अस्पताल आए अस्पतालमा आउँदा उनका २९ बर्षिय भाई दिपक ज्ञवालीको प्राण पखेरु उडी सकेको थियो ।दिपकसंग बैसाख १५ मा गुल्मीकी "कन्चन" (परिवर्तित नाम) संग बिहे भएको थियो । बिहे गरेर घर भित्र्याउन नपाउदै उनलाई अप्ठेरो महसुस भयो । दिपकको १५ गते विहे गर्ने कुरा ९ गते नै टुंगिएको थियो । गुल्मीबाट कन्चनलाई बुटवल ल्याउने र सामान्य विहे गरेर घर भित्राउने योजना अनुसार १५ गते विहे सम्पन्न भयो ।


परिवारका अनुसार विहे मण्डपमा बसेका दिपकलाई दिन भर नै असहज थियो । केही दिन पहिले देखि नै बिरामी दिपकलाई स्थानीय मेडिकलले टाईफाईड भनेर दिएको औषधी दिएको थियो । दिपक त्यही औषधि खाएरै विहे मण्डपमा बसेका थिए ।‘यो बेलामा विहे नगरौ भन्ने थियो । तर कुरा टुंगिएकाले जमघट नगरी प्रक्रिया मात्र पुराएर सिउँदो भर्ने कुरा भएर विहे गरियो । तर आज यस्तो दिन देख्न रहेछ ।’ दिपकका दाजु गिरीराज ज्ञवालीले भने । बिवाहमा भिडभाड पनि थिएन दुवै तर्फका गरेर जम्माजम्मी ८ जना थिए ।दिउसोको बिवाह छिट्टै गरेर सकाएपछि बेहुली लिएर दिपक र उनको परिवार खुसी मनाउदै ३ बजे घर आई पुग्यो । दिनभर बिवाहमा दुख सुख बसेका दिपक घर पुगेको केही बेरबाट आत्तिन थाले । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि मेडिटेक अस्पतालमा लगियो ।बिवाह मण्डपबाट घर पुगेका दिपक र कन्चनको राम्रो कुरा हुन पनि पाएन, चिनजान हुन पनि पाएन ।बिहेकै दिन अस्पतालमा भर्ना भएका दिपक १५ दिनपछि अक्सिजन अभावमा ज्यान गुमाए ।


आफ्नो सिउदोमा रंग भरेकै दिन स्वास्थ्य लाभको कामना गरेर अस्पताल पठाएकी कन्चनले दिपकको मुख राम्रो संग देख्नै नपाई बिदा भए । नत दिपकले कन्चनलाई देख्न पाए । बिवाह गरेर कन्चनलाई भित्र्याए पछि गर्नु पर्ने पुजा समेत यो जोडीले गर्न पाएन ।बैशाख १० गते ज्वरो आएपछि स्थानीय मेडिकल पुगेका २९ बर्षिय दिपकले सामान्य सिटामोल ल्याएर खाए तर २० को १९ भएन । त्यसको २ दिन सम्म निका ज्वरो कम नभएपछि होराईजन स्थित होराईजन मेडकल हलमा पुगे । त्यहाँ उनलाई सलाइन पानी चढाईयो । मेडिकल सञ्चालकले रगत परिक्षण गरेर टाईफाईड भएको भन्दै दिपकको हातमा ५ दिनको औषधीे थमाईदिए ।उनले दिएको औषधी ३ दिन खांदापनि पनि दिपकलाई निको हुने छांटकाट देखिएन । दिपकका दाजु गिरीराज मेडिकलमा आएर पुनः भाईको स्वास्थ्य अवस्था बारे मेडिकल सञ्चालकलाई जानाकारी गराए । मेडिकल सञ्चालक सञ्जय श्रेष्ठले थप ५ दिनको औषधी डोज दिएको र निको हुने भन्दै गिरीराजलाई सम्झाए ।


बिवाहको तयारीमा रहेका दिपकको स्वास्थ्य अवस्थामा सुधार आएन । १५ गते साँझ बुटवलको मेडिटेक अस्पतालमा लगे । त्यो दिन अस्पतालमै बसे । १६ गते विहान कोरोना परिक्षण भयो । साँझ दिपकको रिपोर्ट पोजेटिभ आयो । सामान्य स्वास्थ्यमा सुधार भएको महशुस दिपकले गरेपछि दाजु गिरीराजले चिकित्सकको सल्लाहमा घरमा लिएर आए । अस्वस्थ भएर थलिएका दिपकलाई कन्चनले टाढैबाट हेरीन र दिपकलाई छिटै निको होस भनेर भगवान संग प्राथाना गरीन ।१७ गते दिउसो दिपकलाई उही समस्या देहोरीयो , श्वासप्रश्वासमा समस्या भएको बताए पछि पुनः मेडिटेक अस्पतालमा लगे । मेडिटेकमा लगेपछि अक्सिजन लगाएर राख्ने चिकित्सकले सल्लाह दिए । त्यो दिन मेडिटेकमै राखेपछि १८ गते लुम्बिनी प्रादेशिक अस्पतालमा लगियो । त्यहाँ लगेपछि चिकित्सकले भर्ना गरेर राख्ने सल्लाह दिए ।दाजु गिरीराजले मोटरसाईकल पछाडि राखेरै दिपकलाई धागो कारखाना स्थित कोरोना विशेष अस्पतालमा पु¥याए । कोरोना विशेष अस्पतालमा लगेपछि एक दिन अक्सिजन सहित उनलाई आईसोलेसनमा राखियो । १९ गते उनलाई आईसियूमा सारियो ।भाई अस्पतालमा भर्ना भएपछि गिरीराज विहान ६ बजे देखि साँझ सम्म अस्पताल बाहिर बस्थे । भाईको खवर नर्सबाट जानाकारी लिन्थे ।


 ‘आईतबार सम्म भाईसंग फोनमा कुरा गरेका थिए । छिटो निको हुन्छ भनेर भन्दै थियो । त्यो बेला अक्सिजन अभावको समाचार हामीले थाहा पाएका थियौ । काठमाण्डौ लैजान्छौं भन्दा भन्दै अक्सिजन नपाएरै मेरो भाईको ज्यान गयो गिरीराजले भने ।हरेक दिन जसो आईसियूमा उपचारत कोरोना संक्रमितको मृत्यु हुने र आखै अगाडि प्लाष्टिकले र्यापिन गरेको देख्दा भाई दिपकले डर लागेको भनेर फोनमा बताउने गरेको दाजु गिरीराजले बताए ।अस्पतालको दृश्य देखेर पनि भाईको मनोबल कमजोर भएको हुन सक्छ । मृत्यु भएको संक्रमितको शव त्यहि जिवित उपचारर्थ विरामीकै अगाडि र्यापिन गर्दा कस्तो हुँदो हो । उनले भने । 

साभार समयचक्र/दिनेश पाण्डे 

कमेन्ट गर्नुहोस्