
बुटवल । नेपाल सुनचाँदी व्यवसायी महासंघको १४औँ साधारणसभालाई बुटवलमा सम्बोधन गर्दै पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नं. १ का निवर्तमान जनप्रतिनिधि छविलाल विश्वकर्माले सुनचाँदी व्यवसाय केवल व्यापारमा सीमित नभई नेपालको मौलिक संस्कृति, परम्परा, कला, रोजगारी र अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताएका छन्।
उनले सुनचाँदी व्यवसायलाई व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउन सरकार तथा व्यवसायीबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गरे। साथै, व्यवसायको विकास र विस्तारका लागि नीति तथा कर प्रणालीलाई व्यवसायमैत्री बनाउन पहल गरिनुपर्नेमा जोड दिए।विश्वकर्माले सुनचाँदी व्यवसायले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठूलो संख्यामा रोजगारी सिर्जना गरिरहेको बताउँदै यस क्षेत्रलाई आधुनिक प्रविधिसँग जोडेर व्यवस्थित गर्न सके थप रोजगारीका अवसर सिर्जना गर्न सकिने धारणा राखे। व्यवसायीको सुरक्षा, लगानीको संरक्षण तथा अनुकूल व्यावसायिक वातावरण निर्माण राज्यको प्राथमिक जिम्मेवारी हुनुपर्ने उनको भनाइ थियो।
आजको प्रतिस्पर्धात्मक बजारमा परम्परागत व्यावसायिक शैलीसँगै आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने उल्लेख गर्दै उनले उपभोक्ताको अधिकार र व्यवसायीको हित दुवैको संरक्षणका लागि महासंघ अझ प्रभावकारी बन्नुपर्ने बताए।उनले महासंघले देशभरका सुनचाँदी व्यवसायीका समस्या सरकारसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्दै समाधानका लागि निरन्तर पहल गर्नुपर्नेमा जोड दिए। महासंघ व्यवसायीहरूको साझा आवाज, भरोसा र अधिकारको प्रतिनिधि संस्थाका रूपमा अझ सशक्त बन्नु महत्वपूर्ण रहेको उनले बताए।
देशको आर्थिक विकास सरकारको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै विश्वकर्माले निजी क्षेत्र, उद्योगी, व्यवसायी तथा उद्यमीको लगानी र सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखे। व्यवसायमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्नु राज्यको महत्वपूर्ण जिम्मेवारी भएको उनको भनाइ थियो।कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै उनले सुनचाँदी व्यवसायको संरक्षण, आधुनिकीकरण र दिगो विकासका लागि सरकार, महासंघ तथा व्यवसायीबीच सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिएका छन्।
कमेन्ट गर्नुहोस्