
तिलोत्तमा । तिलोत्तमा गौशालामा रहेका गाई–गोरुका लागि आवश्यक घाँसको व्यवस्थापन गर्ने उद्देश्यले ‘एक डोको घाँस अभियान’ सञ्चालन गरिएको छ। अभियानअन्तर्गत मुख्य सडक तथा आसपासका सडक क्षेत्रमा उम्रिएको घाँस काटेर गौशालासम्म पुर्याउने व्यवस्था मिलाइएको छ।
गाईलाई घाँस खुवाउन चाहने व्यक्ति तथा समूहले मुख्य सडक, हाइवे तथा आसपासका क्षेत्रमा समूह बनाएर घाँस काट्न सक्नेछन्। यसरी संकलन गरिएको घाँस तिलोत्तमा नगरपालिकाको ट्र्याक्टरमार्फत गौशालासम्म पुर्याउने व्यवस्था गरिएको छ।तिलोत्तमा नगरपालिकाका वातावरण शाखा अधिकृत गोरखनाथ खनालका अनुसार गौशालामा रहेका गाई–गोरुलाई पर्याप्त घाँस उपलब्ध गराउने उद्देश्यले इच्छुक व्यक्ति तथा समूहको सहभागितामा अभियान सञ्चालन गरिएको हो।“गाईलाई घाँस खुवाउन चाहने व्यक्तिहरू समूहमा आएर सडक आसपासका क्षेत्रमा घाँस काट्न सक्नुहुन्छ। संकलन गरिएको घाँस नगरपालिकाको ट्र्याक्टरमार्फत गौशालासम्म लैजाने व्यवस्था गरिएको छ,” खनालले बताए।
उनका अनुसार अभियानबाट गौशालामा रहेका गाई–गोरुका लागि आहारको व्यवस्था हुनुका साथै सडक आसपासका क्षेत्रमा बढेको झार तथा घाँस व्यवस्थापन भई वातावरण संरक्षण र सरसफाइमा समेत सहयोग पुग्नेछ।अभियानले पशुप्रेम, सामाजिक उत्तरदायित्व र वातावरणीय सरसफाइलाई एकसाथ जोडेको जनाउँदै नगरपालिकाले स्थानीयवासी तथा विभिन्न संघसंस्था र समूहलाई अभियानमा सहभागी हुन आग्रह गरेको छ।‘एक डोको घाँस, गौशालाका गाई–गोरुको साथ’ भन्ने भावनासहित सञ्चालन गरिएको अभियानले गौशालामा रहेका पशुहरूलाई भोकमरीबाट जोगाउन तथा नगर क्षेत्रलाई सफा र व्यवस्थित बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्