लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दीपमाला ढकाल बनिन् ‘मिस नेपाल २०२६’, पहिरिईन ताज

IMG

काठमाडौँ । नेपालमा बिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरको आयोजनामा शनिबार सम्पन्न ‘मिस नेपाल २०२६’ को ताज दीपमाला ढकालले पहिरिएकी छन्। ललितपुरस्थित द प्लाजामा सम्पन्न   ‘ग्रान्ड फिनाले’ मा  ढकालले देशभरका उत्कृष्ट २४ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै ‘मिस नेपाल २०२६’ को प्रतिष्ठित ताज पहिरिएकी हुन्।‘मिस नेपाल २०२६’ उपाधि जित्न सफल भएकी उनलाई निवर्तमान मिस नेपाल लुना लुइँटेलले मुख्य ताज पहिराएकी थिइन्।


नयाँ इतिहास र पारिवारिक विरासत

हङकङमा जन्मे-हुर्केकी दीपमालाले यसअघि ‘मिस नेपाल हङकङ २०२६’ को उपाधि जित्दै मिस नेपालको मुख्य प्रतिस्पर्धामा प्रवेश पाएकी थिइन्। दीपमालाको यो जितसँगै एउटा रोचक पारिवारिक प्रसङ्ग पनि जोडिएको छ । उनकी आमा सन् १९९४ मा आयोजित पहिलो मिस नेपालकी प्रतिस्पर्धी थिइन्। आमाको सोही अधुरो सपनालाई पछ्याउँदै दीपमालाले ३२ वर्षपछि मिस नेपालको ताज आफ्नो शिरमा सजाउन सफल भएकी छन्।


बहु आयामिक व्यक्तित्व

दीपमाला केवल सौन्दर्य प्रतियोगितामा मात्र सीमित छैनन्; उनी एक उच्च शिक्षित र बहु आयामिक प्रतिभाकी धनी हुन् । उनले  हङकङ विश्वविद्यालयबाट अर्थशास्त्र/फाइनान्समा स्नातक गरेकी  छन भने उनी प्रसिद्ध लगानी कम्पनी ब्ल्याकरक (BlackRock) मा 'इन्भेस्टमेन्ट स्ट्राटेजिस्ट'का रूपमा कार्यरत पनि छिन्।


उनी खेलकुद अन्तर्गत टेइक्वान्दोमा ब्ल्याक बेल्ट हुनुका साथै अनुभवी म्याराथन धाविका समेत हुन्। उनी गैर आवासीय नेपाली सङ्घ (NRNA) को दोस्रो पुस्ता (Second Generation) को संयोजकका रूपमा समेत सक्रिय छिन्।


प्रमुख उपाधि विजेताहरू:

यस वर्षको प्रतिस्पर्धाबाट तीन प्रमुख विधाका विजेताहरूको घोषणा गरिएको छ । जसमा  मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकाल बनिन् भने मिस नेपाल कस्मो २०२६  कशिस सुब्बाले हात पारिन ।  त्यस्तै  मिस नेपाल इन्टरनेशनल २०२६को उपाधी  आर्या निशात ले जितिन ।


अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व

समारोहमा सहभागी प्रतिस्पर्धीहरूलाई विभिन्न विधामा मूल्याङ्कन गरी विजेता चयन गरिएको थियो। मुख्य उपाधि विजेता तीनै जनाले अब आ-आफ्नो विधाअनुसार विश्वव्यापी रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रको नाम उँचो बनाउने अवसर पाउनेछन्।

कमेन्ट गर्नुहोस्